Headline

फराकिलो जितसँगै रियल ला लिगाको शिर्ष स्थानमा फर्कियो

Published

on

रेलिगेसन जोनको ग्रानडालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ ।

आइतबार भएको खेलमा सहज जित हात पारेपछि रियलले सेभियालाई ओभरटेक गर्दै ३० अंकका साथ शिर्ष स्थान कब्जा गर्यो । १३ चरणका खेलहरुको समाप्तिपछि सेभिया र रियल सोसिडाडको समान २८ अंक छ ।

डिफेन्डिङ्ग च्याम्पियन एट्लेटिको म्याड्रिड २६ अंकका साथ चौथो स्थानमा छ ।

अवे खेलमा रियलले १९ औं मिनेटमा अग्रता लिएको थियो । मार्को असेन्सियोेले टोनी क्रुसको असिस्टमा गोल गर्दै रियललाई अग्रता दिलाए । क्रुसको अर्को असिस्टमा नाचो फर्नान्डेजले गोल गरेपछि रियलले ६ मिनेटपछि नै अग्रतालाई दोब्बर पार्यो ।

३४ औं मिनेटमा लुइस सुवारेजले गोल गरेपछि ग्रानडा खेलमा फर्किएको थियो । तर क्रोएसियन प्लेमेकर लुका मोड्रिचको असिस्टमा भिनिसिय जुनियरले गोल गर्दै रियलको दुई गोलको अग्रतालाई कायम राखे ।

६७ र ६९ औं मिनेटमा मोन्चु र रोबर्ट मोरेनोले साझै रातो कार्ड खाएपछि ग्रानडा ९ खेलाडीमा सिमित भएको थियो । त्यसपछि ७६ औं मिनेटमा फर्लान्ड मेन्डीले रियलका लागि चौथो गोल गरे ।

यसअघि अर्को रेलिगेसन जोनको टोली गेटाफेले काडिजलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो । ग्रानडाको ११ र गेटाफेको ९ अंक छ भने १६ औं स्थानमा रहेको काडिजको १२ अंक छ ।

Click to comment

Trending