Headline

न्युजिल्याण्डलाई क्लिन स्विप गर्दै भारतले लियो बिश्वकपको हारको बदला

Published

on

तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टीमा न्युजिल्याण्डलाई ७३ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतले ट्वान्टी ट्वान्टी बिश्वकपमा भोगेको पराजयको नमिठो बदला लिएको छ ।

यसअघि नै श्रृंखला आफ्नो पारिसकेको भारतले तीन म्याचको श्रृंखला ३–० ले आफ्नो पक्षमा पार्दै क्लिन स्विप गर्न सफल भयो । भारत न्युजिल्याण्डसँग पराजित भएपछि बिश्वपको सुपर १२ बाट आउट भएको थियो ।

कप्तान रोहित शर्माको अद्र्धशतकसँगै अन्य ब्याट्स्म्यानहरुको उल्लेखनीय प्रदर्शनको मद्दतमा भारतले इडेन गार्डेन्समा ७ विकेटको क्षतिमा १ सय ८४ रनको बिशाल योगफल खडा गर्यो । जवाफमा न्युजिल्याण्ड १७ दशमलव २ ओभरमा १ सय १० रनमै अलआउट भयो ।

भारतबिरुद्ध ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा न्युजिल्याण्डको यो अहिलेसम्मकै सानो योगफल हो । यसअघिको सबैभन्दा सानो योगफल २०१६ को बिश्वकपमा १ सय २६ रन थियो । सोही खेलमा भारतले न्युजिल्याण्डबिरुद्ध अहिलेसम्मकै सानो योगफल (७६) रनमा समेटिदा पराजित हुन पुगेको थियो ।

ओपनर मार्टिन गुप्टिलले आक्रमक अद्र्धशतक प्रहार गरेपनि न्युजिल्याण्डले अर्को एण्डमा भने निरन्तर विकेट गुमाउन पुग्यो । ३६ बलमा ५१ रन बनाएका गुप्टिल चार चौका र चार छक्का प्रहार गर्दै लेग स्पिनर युजभेन्द्र चाहलको शिकार बने ।

त्यसअघि बायाँ हाते स्पिन अक्सर पटेलले तीन विकेट लिदै न्युजिल्याण्डलाई ब्याक फुटमा धकेलेका थिए । गुप्टिल बाहेक टिम सिफर्टले न्युजिल्याण्डका लागि १७ रन बनाए । लकी फर्गुसन (१४) दोहोरो अंकमा रन जोड्ने अन्तिम ब्याट्स्म्यान थिए ।

कसिलो बलिंग गरेका अक्सरले तीन ओभरमा मात्र ९ रन खर्चे । हर्षल पटेलले पनि भारतका लागि दुई विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको भारतलाई एक पटक फेरि रोहितले आकर्षत शुरुवात दिलाए । उनले पहिलो विकेटका लागि इशान किसनसँग ६९ रन जोडे । किसनले २१ बलमा चार चौकाको मद्दतमा २९ रन बनाए ।

इश सोधीलाई रिटर्न क्याच दिनु अघि रोहितले ३१ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५६ रन बनाए । भारतले सुर्यकुमार यादव (डक) र रिसभ पन्त (चार) लाई सस्तैमा गुमाए पनि श्रेयस ऐयर (२५), भेंकटेश ऐयर (२०), हर्षल पटेल (१८) र दिपक चाहरले पनि ब्याटबाट योगदान दिए ।

चाहरले ८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । न्युजिल्याण्डका लागि मिचेल स्यान्टनरले सर्वाधिक तीन विकेट लिए ।

Click to comment

Trending