Headline

युनाइटेडको अर्को ठूलो हार, यसपटक पुछारको वाटफोर्डसँग चार खायो

Published

on

म्यानचेस्टर युनाइटेडलाई नराम्रो समयले अन्तर्राष्ट्रिय बिश्रामपछि पनि पिछा छोडेन । शनिबार इंगलिस प्रिमियर लिगमा युनाइटेडले रेलिगेसनबाट बच्न संघर्षरत वाटफोर्डसँग ४–१ को लज्जास्पद पराजय व्यहोर्यो ।

पछिल्लो पाँच खेलमा चौथो हार व्यहोरेको युनाइटेडलाई वाट्फोर्डले आफ्नो घरेलु मैदानमा पछारेको हो । हार पछि व्यवस्थापक ओले गुनार सोल्सायरमाथि थप दवाब बढेको छ ।

युनाइटेड १२ खेलमा १७ अंकसाथ सातौं स्थानमा रहेको छ भने शिर्ष स्थानको चेल्सीसँग अझै १२ अंकले पछाडी छ । वाटफोर्ड भने १७ बाट १६ औं स्थानमा उक्लिएको छ ।

११ औं मिनेटमा इस्माइला सार पेनाल्टीमा गोल गर्न चुकेपनि जोसुवा किँग र सारले गोल गर्दा वाटफोर्ड पहिलो हाफमा २–० ले अगाडी रह्यो । त्रिष्चियानो रोनाल्डोको असिस्टमा डोनी भान डि बिकले गोल गरेपछि युनाइटेड खेलमा फर्कियो ।

बराबरी गोलका लागि निरन्तर दवाब बनाउदा डिफेन्स खुकुलो भएपछि खेलको अन्तिम पाँच मिनेटमा दुई गोल खान पुग्यो । जो पेद्रो र इमानुएल डेनिसले गोल गर्दै वाटफोर्डलाई सनसनीपूर्ण जित दिलाए ।

पछिल्लो पाँच खेलमा युनाइटेडले १५ गोल खाएको छ भने उसले टोनेन्ह्यामलाई ३–० ले हराएको थियो । यो सिजन सबैभन्दा धेरै गोल खाने टिमको सुचीमा युनाइटेड तेश्रो स्थानमा छ । युनाइटेडले २१ गोल खाएको छ भने नर्विच सिटी र न्युकासलले समान २७ गोल खाएका छन् ।

युनाइटेडले सिजनको शुरुवाती ७ खेलमा मात्र ६ गोल खाएको थियो ।

शनिबारको पहिलो खेलमा चेल्सीले लेस्टर सिटीलाई ३–० ले हराएको थियो । चेल्सीको जितमा एन्टोनीयो रुडिगर, एलगोल कान्टे र त्रिष्चियन पुलिसिचले गोल गरेका थिए ।

स्टेभन जेरार्डले पनि एस्टन भिल्लामा व्यवस्थापकको रुपमा बिजयी शुरुवात गरेका छन् । भिल्लाले ब्राइटनलाई २–० ले हरायो । अन्य खेलमा बर्नलीले क्रिष्टल प्यालेस र न्युकासलले ब्रेन्टफोर्डसँग समान ३–३ गोलको बराबरी खेले ।

Click to comment

Trending