Headline

पाकिस्तान सामु बंगलादेश फेरि पनि नीरिह

Published

on

बलरहरुले बलियो पकड जमाएपछि पाकिस्तानले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै तीन म्याचको ट्वान्टी ट्वान्टी श्रृंखला एक खेल बाकी रहदै कब्जा गरेको छ ।

ढाकामा शनिबार टस जिति पहिलो ब्याटिङ्ग गरेको घरेलु टोलीलाई पाकिस्तानले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७ रनमै रोकेको थियो । ओपनर मोहम्मद रिजवान र फखर जमानले दोश्रो विकेटका लागि ८५ रनको साझेदारी गरेपछि पाकिस्तानले १८ दशमलव १ ओभरमा जित हात पार्यो ।

ट्वान्टी ट्वान्टी बिश्वकपमा उच्च लयमा रहेका कप्तान बाबर आजम (एक) लाई एक पटक फेरि सस्तैमा गुमाएपनि सानो लक्ष्यमा पाकिस्तानलाई खासै फरक परेन । फखरले टिमलाई जित दिलाउने क्रममा ५१ बलमा नटआउट ५७ रन बनाए । उनले तीन छक्का र दुई चौका प्रहार गरे ।

रिजवानले ४५ बलमा चार चौकाको सहयोगमा ३९ रन बनाए । बंगलादेशका लागि मुस्तफिजुर रहमान र अमिनु इस्लामले १–१ विकेट लिए ।

यसअघि बाबरले प्रयोगमा ल्याएका ६ मध्ये पाँच बलरहरुले विकेट लिएपछि बंगलादेशले कुनै पनि समय खेलमा पकड जमाउन सकेन । ट्वान्टी ट्वान्टी बिश्वकपका स्टार शाहीन शाह अफ्रिदी र शदाब खानले समान दुई विकेट लिएका थिए ।

सर्वाधिक ४० रन बनाएका मोहम्मद होसेन सान्टोले अफिफ होसेन (२०) सँग तेश्रो विकेटका लागि ४६ रनको साझेदारी गरेपनि अन्य ब्याट्स्म्यानहरुले त्यसलाई न्याय दिन सकेनन् । सान्टोले ३४ बलमा पाँच चौका प्रहार गरे ।

बिश्वकप देखि नै निकै खराब प्रदर्शन गर्दै आइरहेको बंगलादेशका लागि कप्तान महमदुल्लाह (१२) र नुरुल हसन (११) दोहोरो अंक छुने अन्य ब्याट्स्म्यान रहे ।

Click to comment

Trending