Headline

निराशाजनक प्रदर्शनपछि उरुग्वेका किर्तिमानी प्रशिक्षक तबारेज बर्खास्त

Published

on

दक्षिण अमेरिकी छनोटमा एक पछि अर्को निराशाजनक प्रदर्शन आएपछि उरुग्वेले किर्तिमानी १५ बर्ष राष्ट्रिय टिम सम्हालेका प्रशिक्षक ओस्कार तबारेजलाई बर्खास्त गरेको छ ।

जम्मा ३४ लाख जनसंख्या रहेको सानो देशलाई २०१० को बिश्वकप सेमिफाइनलसम्म पुर्याउनुका साथै २०११ को कोपा अमेरिकाको उपाधि जिताएका ७४ बर्षिय तबारेजलाई उरुग्वेमा लेजेण्डको रुपमा हेर्ने गरिएको छ । तर अहिले उरुग्वेको बिश्वकप छनोट नै शंकाको घेरामा छ ।

१९३० र १९५० को बिश्वकप जितेको उरुग्वेले जारी दक्षिण अमेरिकी छनोटमा लगातार चार खेलमा पराजय व्यहोरिसकेको छ । उरुग्वेले चार मध्ये तीन हारमा तीन गोल अन्तर रहेको छ ।

“एयुएफको केन्द्रिय समितिले ओस्कार वाशिंगटन तबारेजसँगै अन्य कोचिंग स्टाफलाई बर्खास्त गर्ने निर्णय गरेको छ । यो निकै कठिन निर्णय थियो र यसले तबारेजले उरुग्वेको फुटबलमा गरेको योगदानलाई नजरअन्दाज गर्न खोजेको होइन,” एयुएफले एक प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ ।

पछिल्लो चार खेलमा उरुग्वेले ११ गोल खाएको छ भने एक गोल गरेको छ । यस क्रममा उसले दुई पटक अर्जेन्टिना र एक–एक पटक ब्राजिल र बोलिभियासँग पराजय व्यहोरेको छ । शिर्ष चार टोलीमात्र बिश्वकपमा प्रवेश गर्ने दक्षिण अमेरिकी छनोटमा हाल सातौं स्थानमा रहेको छ ।

ब्राजिल र अर्जेन्टिनाले बिश्वकपमा स्थान बनाइसकेका छन् भने तेश्रो स्थानमा रहेको इक्वेडरलाई चार खेलमा मात्र दुई जितको आवश्यकता रहेको छ । उरुग्वेसहित अन्तिम एक स्थानको लागि दाबेदारीमा रहेका पाँच टोलीबीच जम्मा दुई अंकको अन्तर रहेको छ ।

एउटै राष्ट्रिय टोलीका लागि किर्तिमानी २ सय २१ खेल खेलाएका तबारेज पछाडी अर्का लेजेण्डरी प्रशिक्षक योआकिम लु रहेका छन् । उनले जर्मनीलाई १ सय ९८ खेल खेलाएका थिए । १५ बर्ष ८ महिनाको कार्यकाल रहेका तबारेज बिश्व फुटबलमा सबैभन्दा लामो समय एकै टिम सम्हाल्ने प्रशिक्षक हुन् ।

पहिलो पटक १९८८ देखि १९९० सम्म उरुग्वे सम्हालेका तबारेज २००६ मा फेरि राष्ट्रिय टोलीमा फिर्ता बोलाइएका थिए । यसबीच उनले दुई पटक अर्जेन्टिनी क्लब बोका जुनियर्स र एक पटक इटालियन टोली एसि मिलानको बागडोर सम्हालेका थिए ।

Click to comment

Trending