Headline

महारथी बायर्न म्युनिख रेलिगेसनको टिमसँग पराजित

Published

on

जर्मन महारथी बायर्न म्युनिख बुन्डेसलिगामा पुछारको टोली असबर्गसँग स्तब्ध भएको छ । मिडफिल्डर जोसुवा किमिखलाई क्वारेन्टिनका कारण गुमाएको बायर्न शुक्रबार लिगको १५ औं स्थानमा रहेको असबर्गसँग २–१ ले पराजित भयो ।

म्याड्स पेडर्सन र आन्द्रे हानले गोल गरेपछि बायर्न अवे खेलमा ३५ मिनेटममै २–० ले पछि परेको थियो । तीन मिनेट भित्र रोबर्ट लेवान्डोस्कीले बायर्नलाई खेलमा फर्काए पनि असबर्ग बाकी समय बायर्नलाई रोक्न सफल भयो ।

लेवान्डोस्कीले यो सिजन बुन्डेसलिगामा आफ्नो १४ औं गोल गरेका हुन् । बायर्नको हारले दोश्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डलाई अंक तालिकामा अन्तर छोट्याउने राम्रो अवसर मिलेको छ ।

बायर्नको २८ अंक छ भने शनिबार घरेलु मैदानमा स्टुटगार्टको सामना गरिरहेको डर्टमण्डको २४ अंक छ । फ्राइबर्गको २२ र उल्फ्सबर्गको १९ अंक रहेको छ ।

बायर्नले यो सिजनमा मात्र दोश्रो हार व्यहोरेको हो भने तेश्रो खेल जितेको असबर्ग रेलिगेसन जोनबाट बाहिर निक्लदै १५ औं स्थानमा उक्लिएको हो ।

“हामी पहिलो हाफमै खेलमा पछि पर्ने हकदार थियौं । हामीले असबर्गलाई पोजेसन लिन दियौं र आएको क्रसहरुमा राम्रो खेल्न सकेनौं । यो हारले हाम्रो आत्मबिश्वासलाई नराम्ररी हल्लाएको छ,” बायर्नसँगको ६ सयौं खेलमा तितो अनुभव गरेका फर्वार्ड थोमस मुलरले भने ।

Click to comment

Trending