अन्तर्राष्ट्रिय

पाकिस्तान क्रिकेट टोलीलाई देश निकाला गर्न बंगलादेशका मन्त्रीको माग 

Published

on

बंगलादेश भ्रमणमा रहेको पाकिस्तानसँग रुष्ट बंगलादेशका सूचना राज्य मन्त्री मुरद हसनले पाकिस्तानलाई आफ्नो देशबाट निकाला गर्न माग गरेका छन् । 

बंगलादेश भ्रमणमा रहेको पाकिस्तानले अभ्यास स्थलमा पाकिस्तानको राष्ट्रिय झन्डा राख्दै अभ्यास गरेको कारणले रिसाएका हसनले पाकिस्तान क्रिकेट टोलीलाई आफ्नो देशबाट निकाला गर्न पर्ने माग राखेका हुन् ।

तीन ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय र दुई टेस्ट शृंखलाका लागि बंगलादेश भ्रमणमा रहेको पाकिस्तान क्रिकेट टोलीले सेरे बंगला राष्ट्रिय क्रिकेट रंगशालामा अभ्यास गर्ने क्रममा पाकिस्तानको झन्डा अभ्यास स्थलमा राख्दै अभ्यास गरे पछि मन्त्री मात्र नभएर समर्थकहरु पनि रिसले चुर भएका छन् । समर्थकहरुलेबंगलादेशले पाकिस्तानसँगको टेस्ट र ट्वान्टी ट्वान्टी शृंखला नै रद्द गर्न पर्ने सम्म माग राखेका छन् ।   

पाकिस्तान क्रिकेट टोलीका कार्यबहाक मुख्य प्रशिक्षक सक्लिन मुस्ताकले विश्वकपका क्रममा आफ्नो खेलाडीहरुलाई जोस बढाउनका लागि भन्दै अभ्यास स्थलमा देशको झण्डा राख्ने गरेका थिए । त्यसैलाई निरन्तरता दिँदै उनले बंगलादेश भ्रमणमा पनि यस्तै गरेका हुन् ।

राज्य मन्त्री हसन पाकिस्तानको यस्तो क्रियाकलाप सहन नसकिने जिकिर गर्दछन् । “मलाई पाकिस्तान क्रिकेट टोलीलाई भन्नु अथवा उनीहरुसँग केहि गुनासो छैन । तर जुन क्रियाकलाप उनीहरुले गरेका छन् त्यो भने सह्य छैन,” हसनले भने । “पाकिस्तानको झन्डा अभ्यास स्थलमा प्रयोग गर्नु भनेको बंगलादेशको अपमान गर्नु पनि हो ।”    

“पाकिस्तान र बंगलादेशको इतिहास त हामी सबैलाई थाहा नै छ । हाम्रो देशको राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको शतक जन्म जयन्ती तथा बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्तीको पूर्व सन्ध्यामा यस्तो गर्नु अझ बढी अनुचित हो । पाकिस्तान टोलीलाई उनीहरुको झन्डा सहित देश निकाला गर्न पर्छ ।”

“पाकिस्तानको झण्डा देख्दा हाम्रो मन कुडिएर आउँछ । उनीहरूलाई अभ्यासमा झन्डाको के आवश्यकता ? यो नाटक हो कि प्रहसन ? उनीहरूलाई यस्तो गर्न दिन हुँदैन । हामीहरूले तीस लाख मानिसहरू गुमाएर उनीहरूबाट स्वतन्त्रता हासिल गरेका हौं,” हसनले बङ्गलादेशको एक सञ्चारमाध्यमसँग कुराकानीमा भने ।   

बंगलादेश र पाकिस्तान बीचको तीन ट्वान्टी ट्वान्टी शृंखला शुक्रबार ढाकामा सुरु हुँदैछ ।    

 

Click to comment

Trending