अन्तर्राष्ट्रिय

न्युजिल्यान्डसँग विश्वकपको हारको बदला लिन सफल भारत

Published

on

भारतले ट्वान्टी ट्वान्टी विश्वकपमा व्यहोरेको हारको बदला लिन सफल भएको छ । हालै युएईमा सम्पन्न विश्वकपको आफ्नो दोश्रो खेलमा न्युजिल्यान्डसँग हारको सामना गर्दा भारतको विश्वकप यात्रा सकिन पुगेको थियो । त्यसको बदला लिँदै भारतले तीन खेलको शृंखला अन्तर्गतको पहिलो खेलमा न्युजिल्यान्ड माथि पाँच विकेटको रोमान्चक जित हात पारेको छ ।

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका सुर्यकुमार यादवले अर्धशतकीय पारी खेल्दा १६५ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको भारतले १९ दशमलब चार ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

एक समय जित नजिक रहेको अवस्थामा पनि लगातार रुपमा विकेट गुमाएर दबाबमा आएको भारतका लागि विकेट किपर ऋषभ पन्तले १७ बलमा १७ रन प्रहार गर्दै लक्ष्य पार गराए ।        

भारतको जितमा यादवले ४० बलको सामना गर्दै छ चौका र तीन छक्का सर्वाधिक ६२ रन बनाए भने कप्तान रोहित शर्माले पनि ३६ बलमा ४८ रनको पारी खेले । 

भारतको लागि अर्का ओपनर केएल राहुल र रोहितले पहिलो विकेटको लागि पाँच दशमलब एक ओभरमा ५० रनको साझेदारी गर्दै भारतलाई आक्रामक सुरुवात दिए । १४ बल खेल्दै १५ रन बनाएका राहुलको विकेटको पतन पछि क्रिजमा आएका यादवसँग रोहितले दोश्रो विकेटका लागि ५९ रनको साझेदारी गरे ।  

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक दुई विकेट लिए भने मिचेल स्यान्टनर, टिम साउथीड्यारेल मिचेलले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । 

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पुरै २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १६४ रनको चुनौतिपूर्ण योगफल खडा गर्यो ।

पहिलो ओभरको तेश्रो बलमा नै न्युजिल्यान्डका ओपनर ड्यारेल मिचेल गोल्डेन डक आउट हुन पुगे । तर अर्का ओपनर मार्टिन गुप्टिल र तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मार्क च्यापम्यानले शतकीय साझेदारी गर्दै न्युजिल्यान्डको पारी सम्हाले ।

न्युजिल्यान्डको तर्फबाट सर्वाधिक रन बनाएका गुप्टिलले ४२ बलको सामना गर्दै तीन चौका र चार छक्काको मद्धतमा सर्वाधिक ७० रन बनाए भने च्यापम्यानले ५० बलमा छ चौका र दुई छक्का सहित ६३ रनको पारी खेले । गुप्टिल र च्यापम्यानले दोश्रो विकेटका लागि १२ दशमलब पाँच ओभरमा १०९ रनको साझेदारी गर्दै न्युजिल्यान्डको तीन अंकको स्कोर सम्म पुर्याए ।    

च्यापम्यानको विकेटको पतन पछि क्रिजमा आएका ग्लेन फिलिप्स शुन्य रनमा आउट भए पनि गुप्टिलले आक्रामक पारी खेल्दै न्युजिल्यान्डलाई १५० को योगफल पुगे पछि आफ्नो विकेट गुमाउन पुगे । उनको विकेटको पतन पछि न्युजिल्यान्डले १६ बलमा मात्र १२ रन जोड्न सक्दा ठुलो योगफल बनाउनबाट चुक्यो ।  

न्युजिल्यान्डका अन्य ब्याटरमा टिम सेइफर्ट १२, रचिन रविन्द्र सात रनमा आउट भए भने मिचेल स्यान्टनर चार रनमा अविजित रहे ।

भारतका भुवनेश्वर कुमार र रविचन्द्रन अश्विनले समान २-२ विकेट लिए भने दिपक चाहर र मोहम्मद सिराजले समान १-१ विकेट हात पारे । ४-४ ओभर बलिङ गरेका अश्विन र भुवनेश्वरले क्रमश २३ र २४ रन मात्र खर्चिए ।    

Click to comment

Trending