Headline

पोर्चुगललाई स्तब्ध पार्दै सर्बिया बिश्वकपमा, स्पेन र क्रोएसिया पनि छानिए

Published

on

पोर्चुगललाई स्तब्ध पार्दै सर्बिया २०२२ बिश्वकपका लागि छनौट भएको छ । युरोपियन छनोटबाट आइतबार नै स्पेन र क्रोएसियाले पनि बिश्वकपमा स्थान बनाए भने स्विडेन, पोर्चुगल र रुस प्लेअफमा धकेलिएका छन् ।

एलेक्जेण्डर मित्रोभिचले ९० औं मिनेटमा गोल गर्दै क्रिष्चियानो रोनाल्डोको पोर्चुगल लिस्बनको घरेलु मैदानमै २–१ ले स्तब्ध भयो । आइतबार बिश्वकपमा स्थान बनाएका सबै टोली खेलको अन्तिम समयमा गोल गरेका थिए ।

स्विडेनबिरुद्धको खेलमा मात्र बराबर आवश्यक रहेको स्पेनका लागि अल्भारो मोराटाले ८६ औं मिनेटमा निर्णायक गोल गरे । स्विडिस भेटेरान स्टार ज्लाटन इब्राहिमोभिचको बिश्वकप खेल्ने अर्को आशा अब प्लेअफ मै निर्भर रहेको छ ।

क्रोएसियाले भने रुसमाथि ८१ औं मिनेटमा गोल गर्दै जित हात पार्यो । रुसी डिफेण्डरले आत्मघाती गोल गरेपछि क्रोएसियाले प्लेअफ खेल्न नपर्ने भएको हो ।

मार्च २४ देखि शुरु हुने १२ टिमको प्ले अफबाट अब तीन समुहबाट शिर्ष स्थानमा रहने टोलीले मात्रै बिश्वकपको टिकट काट्नेछन् ।

समुह ए

रेनाटो सान्चेजले दोश्रो मिनेटमै गोल गरेपछि पोर्चुगलले खेलमा पकड बनाएको थियो । तर ३३ औं मिनेटमा डुसान टाडिचले सर्बियालाई खेलमा फर्काए । मित्रोभिचको हेडरपछि लिस्बनमा घरेलु दर्शक शान्त भएको थिए भने रोनाल्डो सहित पोर्चुगिज खेलाडीहरु स्तब्ध बन्न पुगेका थिए ।

अन्तिम सिठीपछि रोनाल्डो थचक्कै मैदानमा बसेका थिए । २०२१ को युरो कपको लागि छनोट हुन नसकेको सर्बियाको लागि पहिलो पटक पोर्चुगलमाथिको जित र बिश्वकपको स्थानलाई ठूलो छलाँगको रुपमा लिन सकिन्छ ।

पछिल्लो पटक पोर्चुगल १९९८ को बिश्वकपमा छनोट हुन सकेको थिएन । प्लेअफमा टप सिड टिमको रुपमा रहने पोर्चुगललाई अब एक खेल घरेलु मैदानमा खेल्न पाउने फाइदा भने हुनेछ । यही समुहको अर्को खेलमा आयरल्याण्डले लक्जेम्बर्गलाई ३–० ले हरायो ।

समुह बी

ड्यानी ओल्मोको लामो दुरीको प्रहार पोस्टमा लागेर फर्किएपछि रिबाउण्डमा मोराटाले गोल गर्दै स्पेनलाई लगातार १२ औं बिश्वकपमा डोर्याए । २००६ पछि ज्लाटन ४० बर्षको उमेरमा स्विडेनको लागि बिश्वकप खेल्ने आशामा रहेका थिए । तर ७४ औं मिनेटमा मैदानमा उनको आगमनले खासै प्रभाव जमाउन सकेन ।

समुह पूर्ण रुपमा नियन्त्रणमा राखेको स्विडन बिहिबार जर्जियासँग २–० ले पराजित भएपछि स्पेनलाई फाइदा भएको थियो । एथेन्समा ग्रिसलाई कोसोभोले १–१ को बराबरीमा रोक्यो ।

समुह एच

२०१८ बिश्वकप उपबिजेता क्रोएसियालाई रुसलाई पाखा लगाउनका लागि मौसमको चुनौति सामना गर्नु पर्ने आवश्यक थियो । पानी जमेको मैदानमा रणनीति परिवर्तन गर्नु पर्दा क्रोएसियालाई रुसी डिफेन्डर फेडोर कुद्रियासोभले आत्मघाती गोल उपहार दिएका थिए ।

रुसलाई बिश्वकपमा स्थान बनाउन बराबरी पनि पर्याप्त रहेको खेलमा क्रोएसियाले नै पकड जमाएको थियो । तर रुसी गोलकिपर माट्भे साफोनोभले केही राम्रा बचाउहरु गर्दै क्रोएसियालाई स्थिति सहज हुन दिएनन् ।

स्लोभाकियाले माल्टालाई ६–० ले हरायो भने स्लोभेनियाले साइप्रसलाई २–१ ले पराजित गर्यो ।

Click to comment

Trending