T20 World Cup

अष्ट्रेलियालाई पहिलो ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि, न्युजिल्यान्डको सपना अधुरै

Published

on

ओपनर डेविड वार्नरमिचेल मार्शले अर्धशतक प्रहार गर्दा अष्ट्रेलियाले पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि चुमेको छ । 

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको फाइनल खेलमा न्युजिल्यान्ड माथि आठ विकेटको सहज जित हात पार्दै पाँच पटकको एकदिवसीय विश्वकप विजेता अष्ट्रेलियाले पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि माथि कब्जा जमाएको हो ।

न्युजिल्यान्ड भने फेरी पनि एक पटक उपविजेतामा नै सीमित हुन पुग्यो । सन् २०१५ मा संयुक्त रुपमा अष्ट्रेलिया र न्युजिल्यान्डमा तथा सन् २०१९ मा इंग्ल्यान्डमा आयोजना भएको एकदिवसीय विश्वकपमा न्युजिल्यान्ड क्रमश अष्ट्रेलिया र इंग्ल्यान्डसँग पराजित हुँदा विश्वकपको उपाधि चुम्ने धोको अधुरै रहेको थियो ।

न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८ दशमलब पाँच ओभर खेल्दै दुई विकेट गुमाएर लक्ष्य पार गर्यो ।

अष्ट्रेलियाको जितमा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मिचेल मार्शले अविजित रहँदै सर्वाधिक ७७ रन बनाए भने ओपनर डेविड वार्नरले ५३ रनको पारी खेले । त्यस बाहेक ग्लेन म्याक्सवेलले पनि १८ बलमा २८ रनको योगदान दिए ।  

अष्ट्रेलियाले सुरुवात भने राम्रो गर्न सकेन । खराब फर्मबाट गुज्रीरहेका कप्तान आरोन फिन्च मात्र पाँच रन जोड्दै ट्रेन्ट बोल्टको बलमा आउट हुन पुगे । कप्तान फिन्चको विकेटको पतन पछि क्रिजमा आएका मार्शले वार्नरसँग मिलेर नौ दशमलब पाँच ओभरमा ९२ रन जोड्दै अष्ट्रेलियाको जितको आधार तयार पारे ।

आफ्नो पहिलो स्पेलमा दुई ओभर गर्दै मात्र छ रन खर्चिएर एक विकेट हात पारेका ट्रेन्ट बोल्टलाई कप्तान केन विलियमसनले १३ औं ओभर गर्नका लागि बलिङमा बोलाए । बोल्टले पनि कप्तानको निर्णय माथि खरो उत्रंदै ३८ बलमा तीन छक्का र चार चौका प्रहार गरेका वार्नरलाई बोल्ड गर्दै न्युजिल्यान्डलाई दोश्रो सफलता दिलाए ।

वार्नरको विकेटको पतन पछि पनि अष्ट्रेलिया रोकिएन । चौथो नम्बरमा ब्याटिङ गर्न आएका म्याक्सवेलले मार्शसँग मिलेर ६ दशमलब तीन ओभरमा अविजित ६६ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई उपाधि दिलाए । ५० बलको सामना गरेका मार्शले छ चौका र चार छक्का प्रहार गरे भने म्याक्सवेलले चार चौका र एक छक्का हिर्काए ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले चार ओभरमा १८ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारे भने बाँकी बलर विकेट बिहिन रहन पुगे ।              

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले विलियमसनको अर्धशतकमा पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १७२ रन बनाउन सफल भयो ।   

न्युजिल्यान्डको लागि कप्तान केन विलियमसनले सर्वाधिक ८५ रन बनाए । शतक नजिक पुगेर जश हेजलउडको बलमा आउट हुनु अघि ४८ बलको सामना गर्दै १० चौका र तीन छक्का प्रहार गरे । ३२ बलमा आफ्नो अर्धशतक पुरा गरेका विलियमसनले मिचेल स्टार्कको एकै ओभरमा चार चौका र एक छक्का सहित २२ रन प्रहार गरे ।

 कप्तान विलियमसन बाहेक न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सुस्त खेल्दै ३५ बलमा २८ रन बनाए भने ग्लेन फिलिप्सले १८ तथा अर्का ओपनर ड्यारेल मिचेलले ११ रनको योगदान दिए । त्यस्तै जिमी निशम र विकेट किपर ब्याट्सम्यान टिम सेइफर्टले अविजित रहँदै क्रमश १३ र आठ रनको पारी खेले । 

अष्ट्रेलियाका जश हेजलउडले चार ओभरमा मात्र १६ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने एडम जाम्पाले पनि आफ्नो नाममा एक विकेट दर्ता गराउन सफल भए । निकै महँगो साबित भएका मिचेल स्टार्कले चार ओभरमा ६० रन खर्चिए ।    

Click to comment

Trending