T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप फाइनल : कप्तान केन विलियमसनको कप्तानी पारीमा अष्ट्रेलियालाई चुनौतिपूर्ण लक्ष्य

Published

on

कप्तान केन विलियमसनको कप्तानी पारीमा युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको फाइनल खेलमा न्युजिल्यान्डले अष्ट्रेलियालाई १७३ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले विलियमसनको अर्धशतकमा पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १७२ रन बनाउन सफल भयो ।   

न्युजिल्यान्डको लागि कप्तान केन विलियमसनले सर्वाधिक ८५ रन बनाए । शतक नजिक पुगेर जश हेजलउडको बलमा आउट हुनु अघि ४८ बलको सामना गर्दै १० चौका र तीन छक्का प्रहार गरे । ३२ बलमा आफ्नो अर्धशतक पुरा गरेका विलियमसनले मिचेल स्टार्कको एकै ओभरमा चार चौका र एक छक्का सहित २२ रन प्रहार गरे ।

 कप्तान विलियमसन बाहेक न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सुस्त खेल्दै ३५ बलमा २८ रन बनाए भने ग्लेन फिलिप्सले १८ तथा अर्का ओपनर ड्यारेल मिचेलले ११ रनको योगदान दिए । त्यस्तै जिमी निशम र विकेट किपर ब्याट्सम्यान टिम सेइफर्टले अविजित रहँदै क्रमश १३ र आठ रनको पारी खेले । 

अष्ट्रेलियाका जश हेजलउडले चार ओभरमा मात्र १६ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने एडम जाम्पाले पनि आफ्नो नाममा एक विकेट दर्ता गराउन सफल भए । निकै महँगो साबित भएका मिचेल स्टार्कले चार ओभरमा ६० रन खर्चिए ।    

आजको खेलमा अष्ट्रेलियाले सेमिफाइनल खेलेको टोलीलाई नै उतारेको छ भने न्युजिल्यान्डले एक परिवर्तन गरेको छ । यस अघिको खेलमा चोट बोकेका डेवन कन्वेको स्थानमा टिम सेइफर्टले सुरुवाती ११ मा स्थान बनाएका छन् । 

दुबै अष्ट्रेलिया र न्युजिल्यान्ड पहिलो ट्वान्टी ट्वान्टी विश्वकपको ट्रफी उचाल्ने लक्ष्यमा रहेका छन् । आजको खेलमा जित हात पार्ने टोलीले पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि चुम्ने छ । न्युजिल्यान्ड पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो भने अष्ट्रेलियाले यस अघि सन् २०१० मा इंग्ल्यान्डमा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरे पनि आयोजक इंग्ल्यान्डसँग सात विकेटले पराजित हुँदै उपविजेतामा सीमित हुन बाध्य भएको थियो । 

सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई तथा अष्ट्रेलियाले समुह चरणमा अपराजित पाकिस्तानलाई समान ५-५ बिकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।  

ट्वान्टी ट्वान्टीमा अष्ट्रेलिया र न्युजिल्यान्ड १४ पटक एक आपसमा भिड्दा अष्ट्रेलिया नौ खेलमा विजयी हुँदा न्युजिल्यान्डले पाँच खेल मात्र आफ्नो पक्ष्यमा पार्न सफल भएको थियो । विश्वकपमा हेर्ने हो भने यि दुई टोलीले एक खेल मात्र खेलेका छन् जसमा न्युजिल्यान्डले जित हात पारेको थियो ।  

Click to comment

Trending