T20 World Cup

पहिलो  ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि जित्ने लक्ष्यमा अष्ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

Published

on

ट्वान्टी ट्वान्टी विश्वकपको पहिलो ट्रफी उचाल्ने लक्ष्य सहित अष्ट्रेलिया र न्युजिल्यान्ड एक आपसमा भिड्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

आजको खेलमा जित हात पार्ने टोलीले पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि चुम्ने छ । न्युजिल्यान्डले पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा स्थान बनाएको हो भने अष्ट्रेलियाले दोश्रो पटक । अष्ट्रेलियाले यस अघि सन् २०१० मा इंग्ल्यान्डमा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरे पनि इंग्ल्यान्डसँग सात विकेटले पराजित हुँदै उपविजेतामा सीमित हुन बाध्य भएको थियो । 

सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई तथा अष्ट्रेलियाले समुह चरणमा अपराजित पाकिस्तानलाई समान ५-५ बिकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।  

न्युजिल्यान्डले आजको खेलमा जित हात पारेको खण्डमा उसले एकै वर्ष आईसीसीको दुई प्रतियोगिताको उपाधि चुम्ने छ । जुनमा इंग्ल्यान्डमा भएको फाइनलमा न्युजिल्यान्डले भारतलाई आठ विकेटले पराजित गर्दै पहिलो पटक आयोजना भएको वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यस्तै न्युजिल्यान्ड अष्ट्रेलियासँग सन् २०१५ मा आयोजना भएको एकदिवसीय विश्वकपको पनि बदला लिन चाहन्छ । सन् २०१५ मा संयुक्त रुपमा अष्ट्रेलिया र न्युजिल्यान्डमा भएको विश्वकपको फाइनलमा अष्ट्रेलियासँग सात विकेटले पराजित भएको थियो ।    

ट्वान्टी ट्वान्टीमा अष्ट्रेलिया र न्युजिल्यान्ड १४ पटक एक आपसमा भिड्दा अष्ट्रेलिया नौ खेलमा विजयी हुँदा न्युजिल्यान्डले पाँच खेल मात्र आफ्नो पक्ष्यमा पार्न सफल भएको थियो । विश्वकपमा हेर्ने हो भने यि दुई टोलीले एक खेल मात्र खेलेका छन् जसमा न्युजिल्यान्डले जित हात पारेको थियो ।  

Click to comment

Trending