World Cup Football

इस्टोनियालाई पराजित गर्दै बेल्जियम अर्को वर्ष आयोजना हुने कतार विश्वकपमा 

Published

on

इस्टोनिया माथि ३-१ गोल अन्तरको जित हात पार्दै फिफा वरियताको शिर्ष स्थानमा रहेको बेल्जियमले अर्को वर्ष आयोजना हुने कतार विश्वकपको लागि आफ्नो स्थान सुरक्षित पारेको छ ।

रोबर्टो मार्टिनेजको टोलीले मंगलबार आफ्नो समुह चरणको आफ्नो अन्तिम खेलमा वेल्सको सामना गर्दैछ तर उसले एक खेल अगावै विश्वकपको लागि टिकट काटेको हो ।

युरोपियन छनोटको समुह ई मा रहेको बेल्जियमको सात खेलमा १९ अंक रहेको छ भने दोश्रो स्थानमा रहेको वेल्सको १४ अंक रहेको छ । बेल्जियम यस समुहमा अपराजित टोली हो । सात खेल खेल्दा उसले छ खेलमा जित हात पारेको छ भने एक खेल बराबरीमा टुंगिएको हो । पछिल्लो पाँच खेलमा बेल्जियमले पाँचवटामा नै जित हात पारेको छ ।

बेल्जियमको जितमा क्रिस्टियन बेन्टेक, यानिक करासकोथोर्गन हाजार्डले समान १-१ गोल गरे ।

बेल्जियमले खेलको ११ औ मिनेटमा बेन्टेकको गोलमा अगर्ता लिन सफल भयो । करासकोको क्रसलाई इस्टोनियाको किपरले रोक्न नसक्दा त्यसको फाइदा लिँदै बेन्टेकले गोल गर्दै बेल्जियमको लागि गोलको खाता खोले ।

पहिलो हाफमा अन्य गोल हुन सकेन र बेल्जियमले १-० को अग्रता हात पार्यो ।

दोश्रो हाफको ५३ औ मिनेटमा करासकोले बेन्टेकले दिएको पासको सदुपयोग गर्दै गोल गरे र बेल्जियमलाई २-० को अग्रता दिलाए ।

७० औ मिनेटमा इस्टोनियाका एरिक सोर्गाले गोल गर्दै खेललाई २-१ को अन्तरमा झार्न सफल भए पनि ७४ औ मिनेटमा हाजार्डले बललाई जाली चुमाए र अर्को सुन्दर गोलमा बेल्जियमले ३-१ को अग्रता हात पार्न सफल भयो ।

त्यस पछि दुबै टोलीबाट गोल हुन नसक्दा बेल्जियमले खेल ३-१ ले आफ्नो पक्ष्यमा पार्यो । 

 

Click to comment

Trending