World Cup Football

एम्बाप्पेले ६३ वर्ष पुरानो किर्तिमानको बराबरी गर्दा फ्रान्स कतार विश्वकपमा 

Published

on

किलियन एम्बाप्पेले चार गोलको प्रहार गर्दा साबिक विजेता फ्रान्सले कजाकिस्तान माथि ८-० गोल अन्तरको फराकिलो जित हात पार्दै सन् २०२२ मा आयोजना हुने कतार विश्वकपको लागि टिकट काटेको छ ।

खेलको पहिलो हाफमा नै आफ्नो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक पुरा गरेका एम्बाप्पेले दोश्रो हाफको अन्त्यमा गोल गर्दै ६३ वर्ष पुरानो किर्तिमानको बराबरी गरेका हुन् । पिएसजी स्टार एम्बाप्पे फ्रान्सको लागि एकै खेलमा चार गोल गर्ने दोश्रो खेलाडी हुन् । यस अघि सन् १९५८ जुन मा फ्रान्सका जस्ट फोन्टेनले वेस्ट जर्मनी विरुद्ध एकै खेलमा चार गोल गरेका थिए ।

फ्रान्सको जितमा एम्बाप्पे बाहेक करिम बेन्जेमाले दुई तथा एड्रियन राबिओटएन्टेनियो ग्रिजमनले समान १-१ गोल गरे ।

खेलको छैटौँ मिनेटमा नै गोल गर्दै एम्बाप्पेले फ्रान्सलाई १-० को अग्रता दिलाए । हर्नान्डेजले दिएको पासको सदुपयोग गर्दै एम्बाप्पे साइड भलिमा गोल गरेका हुन् । 

कजाकिस्तानका किपरले बल क्लियर गर्न असमर्थ रहेको अवस्थामा त्यसको फाइदा लिँदै कोमनले एम्बाप्पेलाई बल पास दिए र एम्बाप्पेले पनि त्यसलाई जालीको दिशा दिए ।

खेलको ३२ औं मिनेटमा गोल गर्दै एम्बाप्पेले आफ्नो ह्याट्रिक पुरा गरे । कोमनले लिएको पासलाई आठ यार्डबाट हेड गर्दै एम्बाप्पेले सुन्दर गोल प्रहार गरे । त्यस पछि पहिलो हाफमा कुनै पनि गोल हुन सकेन ।

दोश्रो हाफमा पनि एक पछि अर्को अवसर बुनेको फ्रान्सका लागि ५६ औँ मिनेटमा बेन्जेमाले गोल गरे । त्यसको चार मिनेट पछि नै बेन्जेमाले एम्बाप्पेको पासमा गोल गरे र फ्रान्सलाई ५-० को अग्रता दिलाए ।

त्यस पछि पनि फ्रान्स रोकिएन । ७५ औँ मिनेटमा राबिओटले फ्रान्सको जर्सीमा आफ्नो पहिलो गोल गर्दै ६-० को अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै ग्रिजमनले गोल गरे । यस अघिका खेलहरुमा फ्रान्सको लागि तीन पेनाल्टीको सदुपयोग गर्न नसके पनि ग्रिजमनले यस पटक भने पाएको मौका खेर फालेनन् ।

खेल सकिन दुई मिनेट अघि एम्बाप्पेले आफ्नो चौथो तथा फ्रान्सको लागि आठौँ गोल गरे ।             

 

 

Click to comment

Trending