अन्तर्राष्ट्रिय

न्युजिल्यान्ड विरुद्दको टेस्टमा रहानेले कप्तानी गर्ने, रोहितलाई बिश्राम 

Published

on

न्युजिल्यान्ड विरुद्धको पहिलो टेस्टमा मध्यक्रमका ब्याट्सम्यान तथा उपकप्तान अजिंक्य रहानेले भारतको कप्तानी गर्ने भएका छन् । 

भारतीय क्रिकेट बोर्डले न्युजिल्यान्ड विरुद्धको दुई टेस्ट शृंखलाका लागि आज टोलीको नाम सार्वजनिक गरेको छ । जस अनुसार भारतीय टोलीका कप्तान विराट कोहलीले पहिलो टेस्ट नखेल्ने भएका छन् । कोहलीको अनुपस्थितिमा रहानेलाई कप्तानीको जिम्मेवारी दिइएको हो । कोहली दोश्रो टेस्टमा फर्कने छन् भने भारतको कप्तानी पनि सम्हाल्ने छन् । कोहलीले न्युजिल्यान्ड विरुद्धको तीन ट्वान्टी ट्वान्टी खेलको शृंखला पनि नखेल्ने भएका छन् । 

त्यस्तै भारतले ट्वान्टी ट्वान्टी कप्तान तथा ओपनर रोहित शर्मालाई पनि टेस्टमा विश्राम दिने भएको छ । रोहित बाहेक विकेट किपर ऋषभ पन्त तथा तीब्र गतिका बलरद्वय जस्प्रित बुम्रा र मोहम्मद शामीले पनि दुबै टेस्ट गुमाउने भएका छन् ।

रोहितको अनुपस्थितिमा ट्वान्टी ट्वान्टीका उपकप्तान केएल राहुलले भारतको लागि ओपनिङ गर्नेछन् । त्यस्तै पहिलो टेस्टमा कोहली नहुने भए पछि मध्यक्रममा श्रेयस ऐयरले खेल्ने प्रबल सम्भावना रहेको छ । कोहली नभएको अवस्थामा हनुमा बिहारीले भारतको टेस्ट टोलीमा वापसी गर्ने अपेक्षा गरिएको भए पनि उनले टोलीमा स्थान बनाउन सकेनन् । बिहारीलाई टोलीमा नराख्नुका कारण बारेमा बिसीसीआईले केही खुलासा गरेको छैन ।

पन्तलाई विश्राम दिए पछि स्रिकर भारतलाई टोलीमा समावेश गरिएको छ । उनले प्रथम श्रेणी क्रिकेटमा ७८ खेल खेल्दै चार हजार दुई सय ८३ रन जोडेका छन् जसका कारण भारतीय टोलीमा मौका पाएका हुन् ।

न्युजिल्यान्डले भारत भ्रमणका क्रममा तीन ट्वान्टी ट्वान्टीको शृंखला र दुई टेस्टको शृंखला खेल्ने छ । ट्वान्टी ट्वान्टी शृंखला जयपुरमा नोभेम्बर १७ मा सुरु हुनेछ । त्यस्तै भारत र न्युजिल्यान्ड बीचको पहिलो टेस्ट कानपुरमा नोभेम्बर २५ र दोश्रो टेस्ट डिसेम्बर तीनमा मुम्बईमा आयोजन हुनेछ ।

भारतीय टोली : अजिन्क्या रहाने (कप्तान), केएल राहुल, मायंक अगरवाल, चेतेश्वर पुजारा, शुबमन गिल, श्रेयस ऐयर, ऋद्धिमन शाह, केएस भरत, रविन्द्र जडेजा, रविचन्द्रन अश्विन, अक्सर पटेल, जयन्त यादव, इशान्त शर्मा, उमेश यादव, मोहम्मद सिराज, प्रसिध कृष्णा, विराट कोहली     

          

Click to comment

Trending