T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : फाइनल पुग्न न्युजिल्यान्डलाई १६७ रनको चुनौतिपूर्ण लक्ष्य  

Published

on

चौथो नम्बरमा ब्याटिङ गर्न आएका मोईन अलीले आक्रामक पारी खेल्दै अर्धशतक प्रहार गरे पछि ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई १६७ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।  

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनायो ।

इंग्ल्यान्डको तर्फबाट ३७ बलको सामना गर्दै तीन चौका र दुई छक्का मद्दतमा अलीले अविजित रहँदै सर्वाधिक ५१ रनको पारी खेले भने डाविड मलानले पनि ४१ रनको योगदान दिए ।  

इंग्ल्यान्डले छैटौँ ओभरमा जोनी बेयरस्टोलाई गुमायो भने नवौं ओभरमा टोलीको कुल योगफल ५३ रन रहेको अवस्थामा जस बटलरलाई पनि गुमायो । बेयरस्टो १३ तथा बटर २९ रन बनाएर पेभेलियन फर्किए ।  

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मलानले अलीसँग ६३ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई चुनौतिपूर्ण लक्ष्य तर्फ लगे । अर्धशतक बनाउनबाट चुकेका मलानले ३० बलमा ४१ तथा लियाम लिविंगस्टोनले १० बलमा १७ रनको योगदान दिए ।   

न्युजिल्यान्डका टिम साउथी, एडम मिल्न, ईश सोधी र जिमी निशमले समान १-१ विकेट हात पारे । 

आजको खेलमा जित हात पार्ने टोलीले फाइनलमा प्रवेश पाउने छ र उपाधिका लागि भोलि हुने अष्ट्रेलिया र पाकिस्तान बीचको दोश्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।

इंग्ल्यान्ड समुह १ को विजेता र न्युजिल्यान्ड समुह २ को उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् । 

समुह चरणको आफ्नो पहिलो खेलमा साबिक विजेता वेस्ट इन्डिज माथि छ विकेटको सहज जित निकालेको इंग्ल्यान्डले दोश्रो र तेश्रो खेलमा क्रमश बंगलादेश र अष्ट्रेलियालाई समान ८-८ विकेटले पाखा लगाएको थियो । 

त्यस्तै आफ्नो चौथो खेलमा श्रीलंकालाई २६ रनले पराजित गरे पनि इंग्ल्यान्ड समुह चरणको पाँचौ तथा अन्तिम खेलमा दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको थियो । समुह चरणमा अष्ट्रेलियाले पनि चार जित सहित आठ अंक बटुले पनि नेट रन रेटका आधारमा इंग्ल्यान्डले समुह विजेता बन्दै सेमिमा स्थान सुरक्षित गरेको थियो ।  

समुह २ मा पाँच खेल मध्य चार खेलमा जित निकाल्दै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो । न्युजिल्यान्डले भारत र अफगानिस्तानलाई समान ८-८ विकेटले तथा नामिबिया र स्कटल्याण्डलाई क्रमश ५२ र १६ रनले पराजित गरेको थियो । समुह चरणका खेलमा अविजित रहेको पाकिस्तानसँग भने न्युजिल्यान्डले पाँच विकेटको हारको सामना गरेको थियो ।

दुई देश बीचको भिडन्त हेर्ने हो भने न्युजिल्यान्ड भन्दा इंग्ल्यान्ड नै हाबी देखिन्छ । २० पटक इंग्ल्यान्ड र न्युजिल्यान्ड एक आपसमा खेल्दा इंग्ल्यान्डले १३ खेलमा जित हात पार्दा न्युजिल्यान्ड सात खेलमा विजयी भएको थियो । तर पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने न्युजिल्यान्डले तीन तथा इंग्ल्यान्डले दुई खेलमा जित हात पारेका छन् ।

यस अघि भएका ट्वान्टी ट्वान्टी विश्वकपको पाँच भिडन्तमा इंग्ल्यान्डले तीन तथा न्युजिल्यान्डले दुई खेल आफ्नो पक्ष्यमा पार्न सफल भएका छन् ।        

Click to comment

Trending