T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : फाइनल प्रवेशका लागि इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै 

Published

on

ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सन् २०१९ एकदिवसीय विश्वकपका फाइनल खेल्ने टोली इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै छन् । आबु धाबीमा हुने खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

आजको खेलमा जित हात पार्ने टोलीले फाइनलमा प्रवेश पाउने छ र उपाधिका लागि भोलि हुने अष्ट्रेलिया र पाकिस्तान बीचको दोश्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।

इंग्ल्यान्ड समुह १ को विजेता र न्युजिल्यान्ड समुह २ को उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् । 

समुह चरणको आफ्नो पहिलो खेलमा साबिक विजेता वेस्ट इन्डिज माथि छ विकेटको सहज जित निकालेको इंग्ल्यान्डले दोश्रो र तेश्रो खेलमा क्रमश बंगलादेश र अष्ट्रेलियालाई समान ८-८ विकेटले पाखा लगाएको थियो । 

त्यस्तै आफ्नो चौथो खेलमा श्रीलंकालाई २६ रनले पराजित गरे पनि इंग्ल्यान्ड समुह चरणको पाँचौ तथा अन्तिम खेलमा दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको थियो । समुह चरणमा अष्ट्रेलियाले पनि चार जित सहित आठ अंक बटुले पनि नेट रन रेटका आधारमा इंग्ल्यान्डले समुह विजेता बन्दै सेमिमा स्थान सुरक्षित गरेको थियो ।   

समुह २ मा पाँच खेल मध्य चार खेलमा जित निकाल्दै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो । न्युजिल्यान्डले भारत र अफगानिस्तानलाई समान ८-८ विकेटले तथा नामिबिया र स्कटल्याण्डलाई क्रमश ५२ र १६ रनले पराजित गरेको थियो । समुह चरणका खेलमा अविजित रहेको पाकिस्तानसँग भने न्युजिल्यान्डले पाँच विकेटको हारको सामना गरेको थियो ।

दुई देश बीचको भिडन्त हेर्ने हो भने न्युजिल्यान्ड भन्दा इंग्ल्यान्ड नै हाबी देखिन्छ । २० पटक इंग्ल्यान्ड र न्युजिल्यान्ड एक आपसमा खेल्दा इंग्ल्यान्डले १३ खेलमा जित हात पार्दा न्युजिल्यान्ड सात खेलमा विजयी भएको थियो । तर पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने न्युजिल्यान्डले तीन तथा इंग्ल्यान्डले दुई खेलमा जित हात पारेका छन् ।

यस अघि भएका ट्वान्टी ट्वान्टी विश्वकपको पाँच भिडन्तमा इंग्ल्यान्डले तीन तथा न्युजिल्यान्डले दुई खेल आफ्नो पक्ष्यमा पार्न सफल भएका छन् । 

      

     

 

Click to comment

Trending