अन्तर्राष्ट्रिय

२४ वर्ष पछि पहिलो पटक पाकिस्तानको भ्रमण गर्दै अष्ट्रेलिया

Published

on

अष्ट्रेलियन क्रिकेट टोलीले २४ वर्ष पछि पहिलो पटक पाकिस्तानको भ्रमण गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले आज अष्ट्रेलिया भ्रमणको खेल तालिका पनि सार्वजनिक गरेको छ । 

पछिल्लो पटक सन् १९९८ मा पाकिस्तानको भ्रमण गरेको अष्ट्रेलियाले अर्को वर्षको मार्च – अप्रिलमा टेस्ट, एकदिवसीय र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलका लागि पाकिस्तानको भ्रमण गर्न लागेको हो । दुबै बोर्डको सहमति पछि अष्ट्रेलियाले पाकिस्तान भ्रमणका क्रममा समान ३-३ टेस्ट र एकदिवसीय खेलको शृंखला खेल्ने छ भने एउटा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल पनि खेल्ने छ ।

वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत पाकिस्तान र अष्ट्रेलिया बीचको पहिलो टेस्ट मार्च तीनमा कराँचीमा सुरु हुनेछ भने दोश्रो र तेश्रो टेस्ट क्रमश रावलपिण्डी र लाहोरमा मार्च १२ र मार्च २१ मा खेलाइने छ । 

त्यस्तै वर्ल्ड कप सुपर लिगको एकदिवसीय खेलहरू मार्च २९, मार्च ३१ र अप्रिल दुई तारिकमा तथा एउटा मात्र ट्वान्टी ट्वान्टी अप्रिल पाँच मा आयोजना हुनेछ । ट्वान्टी ट्वान्टी र एकदिवसीय सबै खेलहरू लाहोरमा खेलाइने भएको छ ।  

वेस्ट इन्डिजले पनि यसै वर्षको अन्त्यमा पाकिस्तानको भ्रमण गर्दैछ । वेस्ट इन्डिजले पाकिस्तान भ्रमणका क्रममा समान ३-३ एकदिवसीय र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्ने छ । एकदिवसीय खेल भने सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप छनोट अन्तर्गतको वर्ल्ड सुपर लिग अन्तर्गतको रहेको छ ।      

वेस्ट इन्डिजले पाकिस्तान भ्रमणका क्रममा डिसेम्बर १३, १४ र १६ मा ट्वान्टी ट्वान्टी तथा डिसेम्बर १८, २० र २२ मा एकदिवसीय खेल खेल्ने छ । सबै खेल कराँचीमा नै आयोजना हुने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ ।

पाकिस्तानमा आतङ्कवादीहरू धेरै रहेको र सुरक्षाको दृष्टिकोणले पनि पाकिस्तानको भ्रमण गर्नु उचित नहुने भन्दै धेरै टोलीको विश्वास रहेको छ । जसका कारण पाकिस्तानले धेरै जसो आफ्नो घरेलु खेलहरु युएईमा खेल्ने गर्दछ । युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अघि सेप्टेम्बरमा न्युजिल्यान्डले पाकिस्तानको भ्रमण गरेको थियो । तर पहिलो खेल सुरु हुनु केही घण्टा अघि मात्र सुरक्षाको कारण देखाउँदै न्युजिल्यान्डले उक्त शृंखला नखेली आफ्नो देश फर्कियो । 

न्युजिल्यान्डले भ्रमण रद्द गरे पछि इंग्ल्यान्डले पनि पाकिस्तान भ्रमण नगर्ने जनायो र शृंखला हुन सकेन । इंग्ल्यान्ड उक्त समयमा हालत राम्रो नभएको भए पनि सन् २०२२ मा पाकिस्तानको भ्रमण गर्ने प्रतिबद्धता जनाएको छ ।    

 

 

Click to comment

Trending