Headline

सपना किन नदेख्ने ? के वेष्ट ह्याम प्रिमियर लिगको गम्भिर दावेदार हो ?

Published

on

इंगलिस प्रिमियर लिगमा लगातार चार जित, अंक तालिकामा तेश्रो र शिर्ष स्थानको चेल्सीभन्दा मात्र तीन अंकले पछाडी – के वेष्ट ह्याम युनाइटेडलाई उपाधिको गम्भिर दावेदारको रुपमा हेर्ने समय आएको हो ?

लिभरपुललाई आइतबार ३–२ ले पराजित गरेपछि वेष्ट ह्याम लिभरपुललाई अंक तालिकामा पछि पार्दै अन्तर्राष्ट्रिय बिश्राम तर्फ लागेको छ । मात्र ११ खेलपछि वेष्ट ह्यामलाई अझै लामो बाटो तय गर्नुछ तर डेभिड मोयेसको टोली खतरनाक देखिएको छ भने प्रिमियर लिगका धुरन्धरहरुको पंक्तिमा उभिने हकदार नै रहेको छ ।

आइतबार लिभरपुलबिरुद्ध गोल गरेका फर्वार्ड पाब्लो फोर्नाल्स यो सिजन वेष्ट ह्यामको आशालाई सिमित गरेर राख्नु पर्ने कुनै कारण देख्दैनन् । “मलाई थाहा छैन । शायद अहिले केही भनिहाल्न निकै चाडो हुन सक्छ । तर हरेक खेलमा टक्कर दिन सक्ने हो भने सपना किन नदेख्ने ?,” फोर्नाल्सले भने ।

वेष्ट ह्याम यो सिजन कहाँ सम्म पुग्न सक्छ त ?

रेलिगेसन दाबेदारदेखि च्याम्पियन्स लिग आशावादी

गत सिजन वेष्ट ह्याम मात्र दुई अंकले शिर्ष चार भित्र छिर्न चुकेको थियो । तर उक्त अभियानलाई सामान्य झड्काको रुपमा सिमित गर्नु भन्दा त्यसैलाई परिमार्जित गर्दै आएको छ ।

दुई बर्षअघि ह्यामर्सको बागडोर सम्हालेका मोयेसले अंक तालिकाको अन्तिम ९ मा सिमिति रहने गरेको वेष्ट ह्यामलाई अहिलेको शिर्ष तीन भित्र पर्ने टिममा परिणत गरेका छन् । २०२१ मा वेष्ट ह्यामको प्रगति आकर्षक देखिन्छ ।

प्रिमियर लिगमा यो बर्ष वेष्ट ह्यामले ६५ अंक बटुलेको छ र मात्र डिफेन्डिङ्ग च्याम्पियन म्यानचेस्टर सिटी (८०) र च्याम्पियन्स लिग बिजेता चेल्सी (६६) ले उ भन्दा बढी अंक बनाएका छन् ।

डेभिड मोयेसले उपयुक्त ढँगले वेष्ट ह्यामलाई टिमको रुपमा सञ्चालन गर्दै आएका छन्

यो लोभलाग्दो प्रदर्शनको पछाडी वेष्ट ह्यामको अनुशासीत रक्षापंक्ति र काउन्टरमा उसले बटुल्दै आएको गति र कला हो । वेष्ट ह्याम यो सिजन सेट पिसहरुको बिज्ञ नै बनेको छ । लिभरपुलबिरुद्धको तीन मध्येको दुई गोल त्यसैबाट आएको हो ।

मोयेसले सम्हालेपछि वेष्ट ह्यामले ३२ गोल सेट पिसबाटै गरेको छ । यो अन्य टिमभन्दा पाँच बढी हो । निरन्तर राम्रो परिणाम निकाल्दै गरेपछि मोयेस भने अहिले नै भावनामा बग्न चाहदैनन् ।

“म हरेक समय सकारात्मक भएर बस्न चाहन्छु । हामी उपाधि जित्न सक्षम छौं तर अहिले नै निष्कर्षमा पुग्न चाहन्न । हामी च्याम्पियन्स लिग खेल्नबाट मात्र दुई अंकले चुकेका थियौं, त्यसैले त्यहाँ पुग्न हामी किन नसकौंला र ? अहिले भावनमा बग्ने समय होइन तर हाम्रो लागि राम्रो अनुभव भइरहेको छ,” मोयेसले आफूलाई धरातलमा राख्दै भने ।

के वेष्ट ह्यामले लेस्टर सिटी गर्न सक्ला ?

२०१५–१६ मा लेस्टर सिटीको उपाधि अभियानले के स्पष्ट बनाएको छ भने जब व्यवस्थापक, खेलाडी र टिम स्पिरिट एकै सुरमा हुन्छन् कसैले अपेक्षा नै नगरेको कुरा हुन्छ ।

लेस्टरको त्यो टोलीसँग अहिलेको वेष्ट ह्याम धेरै कुरामा समान छ । रणनीतिमा सटिक देखिएका मोयेस एभर्टनको व्वस्थापक रहँदाको समयमा जस्तै आफ्नो टोलीबाट उत्कृष्ट निकाल्न सफल भइरहेका छन् ।

वेष्ट ह्यामका खेलाडीहरुमा टिम भावना अथाह छ र हरेक खेलमा एक अर्काको लागि भिडिरहेका छन् । “लेस्टरले प्रिमियर लिग जित्ने कसैले पनि अपेक्षा नै गरेको थिएन । अचम्मका कुराहरु भएका छन्, के थाहा,” क्रिष्टल प्यालेसका पुर्व स्ट्राइकर क्लिन्टन मोरिसनले भने ।

वेष्ट ह्यामले केही खेलाडीहरु नथप्ने हो भने गाह्रो पर्न सक्छ । तर अहिले समर्थक, व्यवस्थापक र खेलाडीहरुलाई आनन्द उठाउन दिदाँ हुन्छ । वेष्ट ह्याममा अहिले राम्रो समय चलिरहेको छ ।

Click to comment

Trending