T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : समुह विजेता बन्दै अपराजित पाकिस्तान सेमिफाइनलमा

Published

on

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत समुह चरणको आफ्नो अन्तिम लिग खेलमा स्कटल्याण्डमाथि ७२ रनको फराकिलो जित निकाल्दै पाकिस्तान समुह २ को समुह विजेताका रुपमा सेमिफाइनल प्रवेस गरेको छ ।

पाकिस्तानले फाइनल प्रवेसका लागि बिहिबार समुह १ को उपविजेता अष्ट्रेलियाको सामना गर्नेछ । त्यस्तै पाकिस्तानले जित दर्ता गराउँदा न्युजिल्यान्ड उपविजेताका रुपमा सेमिफाइनल प्रवेस गरेको छ र उसले सेमिफाइनलमा समुह १ को विजेता इंग्ल्यान्डसँग खेल्ने छ ।    

कप्तान बाबर आजमको किर्तिमानी अर्धशतक तथा अनुभवी ब्याटर सोएब मलिकको आक्रामक अर्धशतकमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा चार विकेटको नोक्सानीमा १८९ रन बनायो भने जवाफी  ब्याटिङ गरेको स्कटल्याण्डले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा ११७ रन मात्र जोड्न सक्यो ।

लगातार रुपमा विकेट गुमाए पनि स्कटल्याण्डको लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका रिची बेरिङटनले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ३७ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे ।  

उनी बाहेक ओपनरद्वय जर्ज मुन्से र कप्तान कायल कोट्जर क्रमश १७ र नौ, विकेट किपर म्याथ्यु क्रस पाँच, डिलन बज शुन्य र क्रिस ग्रिव्स चार रनमा आउट भए ।

स्कटल्याण्डलाई रोक्ने क्रममा शदाब खानले चार ओभरमा १४ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारे भने शाहिन शाह अफ्रिदी, हारिस रउफ र हसन अलीले पनि समान १-१ विकेट आफ्नो नममा दर्ता गराए । 

पाकिस्तानको तर्फबाट कप्तान बाबरले ४७ बलको सामना गर्दै पाँच चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ६६ रन बनाएर आउट भए । ४० बलमा आफ्नो अर्धशतक पुरा गरेका बाबरले न्युजिल्यान्ड बाहेक भारत, अफगानिस्तान र नामिबिया विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

त्यस्तै आजको खेलमा अर्धशतक प्रहार गरे पछि बाबरले भारतीय क्रिकेट टोलीका उपकप्तान तथा ओपनर रोहित शर्मालाई पछि पार्दै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा धेरै अर्धशतक प्रहार गर्ने खेलाडीको दोश्रो स्थानमा उक्लिएका छन् भने उनी भन्दा अघि विराट कोहली मात्र रहेका छन् । बाबरको नाममा २४ ट्वान्टी ट्वान्टी अर्धशतक छ भने पहिलो स्थानमा रहेका विराट कोहलीले ट्वान्टी ट्वान्टीमा २९ वटा अर्धशतक प्रहार गरेका छन् ।     

पाकिस्तानको लागि बाबर बाहेक सोएब मलिकले आक्रामक पारी खेल्दै १८ बलमा छ छक्का र एक छक्काको मद्दतमा अविजित ५४ रनको पारी खेले । त्यस बाहेक मोहम्मद हफिजले १९ बलमा चार चौका र एक छक्काको मद्दतमा आक्रामक ३१ रनको पारी खेले भने मोहम्मद रिजवान १५, फकार जमान आठ रनमा आउट भए ।  

स्कटल्याण्डका क्रिस ग्रिब्सले दुई विकेट हात पारे । 

Click to comment

Trending