T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : कप्तान बाबरको किर्तिमानी र मलिकको आक्रामक अर्धशतकमा पाकिस्तानको विशाल योगफल  

Published

on

कप्तान बाबर आजमले किर्तिमानी अर्धशतक तथा सोएब मलिकको तुफानी आक्रामक अर्धशतकमा पाकिस्तानले युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत समुह चरणको आफ्नो अन्तिम लिग खेलमा स्कटल्याण्डलाई १९० रनको विशाल लक्ष्य दिएको छ ।

जारी विश्वकपमा आजमले चौथो अर्धशतक तथा मलिकले १८ बलमा अर्धशतक प्रहार गरेसँगै खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा चार विकेटको नोक्सानीमा १८९ रन बनायो ।  

पाकिस्तानको तर्फबाट कप्तान बाबरले ४७ बलको सामना गर्दै पाँच चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ६६ रन बनाएर आउट भए । ४० बलमा आफ्नो अर्धशतक पुरा गरेका बाबरले न्युजिल्यान्ड बाहेक भारत, अफगानिस्तान र नामिबिया विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

त्यस्तै आजको खेलमा अर्धशतक प्रहार गरे पछि बाबरले भारतीय क्रिकेट टोलीका उपकप्तान तथा ओपनर रोहित शर्मालाई पछि पार्दै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा धेरै अर्धशतक प्रहार गर्ने खेलाडीको दोश्रो स्थानमा उक्लिएका छन् भने उनी भन्दा अघि विराट कोहली मात्र रहेका छन् । बाबरको नाममा २४ ट्वान्टी ट्वान्टी अर्धशतक छ भने पहिलो स्थानमा रहेका विराट कोहलीले ट्वान्टी ट्वान्टीमा २९ वटा अर्धशतक प्रहार गरेका छन् ।     

पाकिस्तानको तर्फबाट बाबर बाहेक सोएब मलिकले आक्रामक पारी खेल्दै १८ बलमा छ छक्का र एक चौकाको मद्दतमा अविजित ५४ रनको पारी खेले । त्यस बाहेक मोहम्मद हफिजले १९ बलमा चार चौका र एक छक्काको मद्दतमा आक्रामक ३१ रनको पारी खेले भने मोहम्मद रिजवान १५, फकार जमान आठ रनमा आउट भए ।  

स्कटल्याण्डका क्रिस ग्रिब्सले दुई विकेट हात पारे । 

 

   

 

Click to comment

Trending