T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : सेमिफाइनल पुग्न न्युजिल्यान्डलाई १२५ रनको सामान्य लक्ष्य 

Published

on

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुग्नका लागि न्युजिल्यान्डले १२५ रनको सामान्य लक्ष्य पाएको छ । सेमिफाइनलमा प्रवेस पाउनका लागि जित्नै पर्ने खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई १२४ रनमा रोक्न सफल भएको हो ।  

खराब सुरुवातका बाबजुद नजिबउल्लाह जद्रानले अर्धशतकीय पारी खेले पछि खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको अफगानिस्तानले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १२४ रन मात्र  जोड्न सक्यो । 

पावर-प्लेमा २३ रन जोड्दै तीन विकेट गुमाएर खराब सुरुवात गरेको अफगानिस्तानको पारी सम्हाल्ने क्रममा जद्रानले ४८ बलको सामना गर्दै छ चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ७३ रन बनाए भने अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । 

तेश्रो ओभरको दोश्रो बलमा विस्फोटक ब्याटर मोहम्मद शहजाद ११ बल खेल्दै चार रनमा एडम मिल्नको शिकार भए भने त्यस लगत्तैको ओभरमा अर्का ओपनर हजरतउल्लाह जजाई दुई रन जोड्दै ट्रेन्ट बोल्टको बलमा आउट हुन पुगे । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका रहमानउल्लाह गुरबाज चार रनमा टिम साउथीको बलमा एलबीडब्लुको धरापमा पर्दै पेभेलियन फर्किए । 

त्यस बाहेक गुलाबदीन नैब १५, कप्तान मोहम्मद नाबी १४, करिम जन्नत दुई तथा रशिद खान दुई रनमा आउट भए ।

अफगानिस्तानलाई सानो योगफलमा रोक्ने क्रममा ट्रेन्ट बोल्टले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने टिम साउथीले चार ओभरमा नै २४ रन दिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए । 

अफगानिस्तानले खराब ब्याटिङ गर्दा भारतको भने चिन्ता बढेको छ । आज अफगानिस्तान न्युजिल्यान्डसँग पराजित भएको खण्डमा भारतको सेमिफाइनल सपनामा पूर्ण बिराम लाग्नेछ ।  

सेमिफाइनलमा स्थान सुरक्षित गर्नका लागि आजको खेलमा दुबै अफगानिस्तान र न्युजिल्यान्ड गर या मरको अवस्थामा छन् भने यसै खेलले भारतको सेमिफाइनलको यात्रा पनि तय गर्नेछ ।  

अफगानिस्तान र न्युजिल्यान्ड भिड्दा यस समुहबाट सेमिफाइनल पुग्ने दोश्रो टोलीको टुंगो लाग्ने छ । समुह २ बाट पाकिस्तानले यस अघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेकोले यस खेलले न्युजिल्यान्ड, अफगानिस्तान र भारतको भाग्य निर्धारण गर्नेछ ।

आज न्युजिल्यान्डले अफगानिस्तानलाई पराजित गरेको खण्डमा उसले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ भने भारत एक खेल अगावै प्रतियोगिताबाट बाहिरिने छ । अफगानिस्तानले न्युजिल्यान्ड विरुद्ध जित दर्ता गर्न सकेको खण्डमा भारतको भाग्य चम्कने छ र उसले सेमिमा स्थान सुरक्षित गर्नेछ । त्यस्तै आजको खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्न सकेको स्थितिमा उसको पनि सेमिफाइनल खेल्ने सपना जीवितै रहन्छ ।

समुह २ मा समान ४-४ खेल खेल्दा अंक तालिकामा न्युजिल्यान्डको ६ अंक छ भने भारत र अफगानिस्तानको समान ४-४ अंक रहेको छ । न्युजिल्यान्डले जित दर्ता गर्दा उसको आठ अंक हुन्छ र उसले सेमिफाइनलमा सहजै स्थान बनाउने छ । अफगानिस्तानले न्युजिल्यान्डलाई स्तब्ध बनाएको स्थिति र भारत भोलि हुने आफ्नो अन्तिम खेलमा नामिबियालाई फराकिलो अन्तरले पराजित गरेमा उसले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ ।

आफ्नो पहिलो खेलमा पाकिस्तानसँग आठ विकेटले पराजित भएको न्युजिल्यान्डले आफ्नो दोश्रो खेलमा भारत माथि आठ विकेटको सहज जित हात पारेको थियो । त्यस्तै उसले कम्जोर स्कटल्याण्ड र नामिबियालाई क्रमश १६ र ५२ रनले पराजित गरेको थियो । 

पहिलो खेलमा स्कटल्याण्ड माथि १३० रनको फराकिलो जित दर्ता गराएको अफगानिस्तान पाकिस्तानसँग पाकिस्तानसँग पाँच विकेटको हारको सामना गरेको थियो । त्यस्तै नामिबियालाई ६२ रनले पराजित गरे पनि अफगानिस्तानले भारतसँग ६६ रनको फराकिलो हार व्यहोरेको थियो ।   

Click to comment

Trending