T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : वेस्ट इन्डिज माथि अष्ट्रेलियाको सहज जित, सेमिफाइनलको लागि इंग्ल्यान्ड र दक्षिण अफ्रिकाको खेल सम्म कुर्न पर्ने 

Published

on

समुह चरणको आफ्नो पाँचौं तथा अन्तिम खेलमा अष्ट्रेलियाले साबिक विजेता वेस्ट इन्डिज विरुद्ध आठ विकेटको सहज जित निकालेको छ । 

वेस्ट इन्डिज माथि सहज जित निकालेको भए पनि अष्ट्रेलियाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छैन । पाँच खेलमा चार जित सहित आठ अंक बटुलेको अष्ट्रेलियाले सेमिफाइनल पुग्नका लागि आज नै हुने इंग्ल्यान्ड र दक्षिण अफ्रिका बीचको खेलको नतिजा सम्म कुर्न पर्ने हुन्छ ।

यस अघि चार खेलमा चार जित निकालेको इंग्ल्यान्डले सेमिफाइनल पक्का गरिसकेको छ । आज नै हुने दोश्रो खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई पराजित गरेको खण्डमा अष्ट्रेलियाले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ भने दक्षिण अफ्रिकाले जित हात पारेमा नेट रन रेटले अष्ट्रेलिया र दक्षिण अफ्रिकाको सेमिफाइनलमा पुग्ने हो त्यसको निर्णय गर्नेछ ।

जितका लागि १५८ रनको मध्यम लक्ष्य पक्ष्याएको अष्ट्रेलियाले ओपनर डेविड वार्नर र मिचेल मार्शको अर्धशतकमा दुई विकेट गुमाएर २२ बल अगावै लक्ष्य पार गर्यो ।

अष्ट्रेलियाको जितमा ओपनर वार्नरले अविजित रहँदै सर्वाधिक ८९ रन बनाए भने जितका लागि एक रन आवश्य रहेको अवस्थामा  क्रिस गेलको बलमा आउट भएका मार्शले ३२ बलमा पाँच चौका र दुई छक्का सहित ५३ रन बनाए ।   

कप्तान आरोन फिन्च नौ रनमा आउट भए पनि ५६ बलको सामना गर्दै नौ चौका र चार छक्का प्रहार गरेका वार्नरले दोश्रो विकेटका लागि मार्शसँग १२४ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई सेमिफाइनल नजिक पुर्याएका हुन् ।  

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पुरै २० ओभर खेल्दै सात विकेट गुमाएर १५७ रन मात्र जोड्न सक्यो ।

एक समय निकै खराब स्थितिमा वेस्ट इन्डिजको लागि कप्तान कायरन पोलार्ड, शिम्रन हेटमायर र आन्द्रे रसेलले सम्मानजनक योगफल सम्म पुर्याए ।  

ओपनर क्रिस गेल र एविन लुइसले पहिलो विकेटको लागि दुई दशमलब दुई ओभरमा ३० रन जोड्दै आक्रामक सुरुवात गरे । नौ बलमा दुई छक्का सहित १५ रन बनाएका गेलको विकेटको पतन पछि आएका निकोलस पुरन चार तथा रोस्टन चेज डकआउट भए । त्यस्तै लुइस २९, हेटमायर २७ तथा ड्वेन ब्राभो १० रन जोडे पछि पेभेलियन फर्किए ।  

एक छोडमा लगातार रुपमा विकेट गुमाए पनि अर्को छोडमा कप्तान कायरन पोलार्डले वेस्ट इन्डिजको पारी सम्हाल्दै बसे । पारीको अन्तिम ओभरमा आउट भएका उनले ३१ बलमा चार चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ४४ रन जोडे । त्यस्तै आन्द्रे रसेलले सात बलमा अविजित १८ रनको आक्रामक पारी खेले ।

वेस्ट इन्डिजलाई मध्यम स्कोरमा रोक्ने क्रममा अष्ट्रेलियाका जश हेजलउडले चार ओभरमा ३९ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने मिचेल स्टार्क, प्याट कमिन्स एडम जाम्पाले पनि समान १-१ विकेट आफ्नो नाममा लेखाउन सफल भए ।     

   

 

Click to comment

Trending