T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : कमजोर स्कटल्याण्ड विरुद्ध भारतको सहज जित  

Published

on

ओपनर केएल राहुलको आक्रामक अर्धशतक तथा मोहम्मद शामी र रविन्द्र जडेजाले घातक बलिङमा भारतले युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत आफ्नो चौथो खेलमा कमजोर स्कटल्याण्ड माथि आठ विकेटको फराकिलो जित दर्ता गराएको छ । चौथों खेलमा भारतको लगातार दोश्रो जित हो ।  

आजको खेलमा फराकिलो जित निकालेसँगै भारत अंक तालिकाको तेश्रो स्थानमा पनि उक्लिन सफल भएको छ । समुह २ मा पाकिस्तान आठ अंक सहित पहिलो तथा छ अंक सहित न्युजिल्याण्ड दोश्रो स्थानमा रहेको छ । अफगानिस्तानको पनि समान ४ अंक रहे पनि नेट रन रेटका आधारमा भारत तेश्रो स्थानमा रहेको हो ।   

खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भारतले स्कटल्याण्डलाई १७ दशमलब चार ओभरमा मात्र ८५ रनमा रोक्न सफल भयो । ८५ रनको लक्ष्य लिएर ब्याटिङमा आएको भारतले छ दशमलब तीन ओभर खेल्दै दुई विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।  

भारतको जितमा ओपनर केएल राहुलले आक्रामक अर्धशतक प्रहार गरे । १९ बलको सामना गरेका राहुलले छ चौका र तीन छक्का प्रहार गर्दै ५० रन बनाए ।  सुरुवात देखि नै आक्रामक खेलेका राहुल र रोहित शर्माले पहिलो विकेटका लागि पाँच ओभरमा ७० रन बनाए । १६ बलको सामना गरेका रोहित ३० रन बनाएर आउट भए ।

स्कटल्याण्डका मार्क वाट र ब्राड ह्विलले समान १-१ विकेट हात पारे ।  

स्कटल्याण्डलाई सानो योगफलमा रोक्ने क्रममा मोहम्मद शामी र रविन्द्र जडेजाले समान ३-३ विकेट हात पारे । जडेजाले चार तथा शामीले तीन ओभरमा समान १५-१५ रन खर्चिए । त्यस बाहेक जस्प्रित बुम्राले तीन दशमलब चार ओभरमा १० रन दिएर दुई तथा र रविचन्द्रन अश्विनले १ विकेट आफ्नो नाममा दर्ता गराए ।

स्कटल्याण्डको तर्फबाट सर्वाधिक रन जोडेका ओपनर जर्ज मुन्सेले २४ रन बनाए भने माइकल लिस्क २१, कलम म्याकलोइड १६ तथा मार्क वाट १४ रनमा आउट भए । त्यस्तै स्कटल्याण्डका तीन जना बलरले रनको खाता पनि खोल्न सकेनन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।   

आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले र दोश्रो खेलमा न्युजिल्यान्डसँग आठ विकेटले पराजित भएको भारतको सेमिफाइनलमा पुग्ने आशा लगभग समाप्त भइसकेको भए पनि गणितीय सम्भावना बाँकी नै रहेको छ । भारतलाई सेमिफाइनलको ढोका खुल्नका लागि अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गर्न पर्ने हुन्छ ।  

यदि अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गरेको खण्डमा भारत, अफगानिस्तान र न्युजिल्यान्डको समान ६-६ अंक हुन्छ र त्यस समयमा नेट रन रेटले एउटा टोलीको भाग्य चम्काउँछ ।  

समुह २ बाट आफूले खेलेका चार खेलमा नै जित निकाल्दै पाकिस्तानले सेमिफाइनलको यात्रा तय गरिसकेको छ । त्यसैले पनि भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई सेमी पुग्नका लागि कम्तिमा पनि तीन जित आवश्यक रहन्छ । 

Click to comment

Trending