T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : शामी, जडेजा र बुम्राले घातक बलिङ गर्दा भारतलाई ८६ रनको सानो लक्ष्य

Published

on

मोहम्मद शामी, रविन्द्र जडेजा र जस्प्रित बुम्राले घातक बलिङ गरे पछि युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत आफ्नो चौथो खेलमा भारतले ८६ रनको सामान्य लक्ष्य पाएको छ ।

खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भारतले स्कटल्याण्डलाई १७ दशमलब चार ओभरमा मात्र ८५ रनमा रोक्न सफल भएको हो । 

स्कटल्याण्डलाई सानो योगफलमा रोक्ने क्रममा मोहम्मद शामी र रविन्द्र जडेजाले समान ३-३ विकेट हात पारे । जडेजाले चार तथा शामीले तीन ओभरमा समान १५-१५ रन खर्चिए । त्यस बाहेक जस्प्रित बुम्राले तीन दशमलब चार ओभरमा १० रन दिएर दुई तथा र रविचन्द्रन अश्विनले १ विकेट आफ्नो नाममा दर्ता गराए ।

स्कटल्याण्डको तर्फबाट सर्वाधिक रन जोडेका ओपनर जर्ज मुन्सेले २४ रन बनाए भने माइकल लिस्क २१, कलम म्याकलोइड १६ तथा मार्क वाट १४ रनमा आउट भए । त्यस्तै स्कटल्याण्डका तीन जना बलरले रनको खाता पनि खोल्न सकेनन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।   

आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले र दोश्रो खेलमा न्युजिल्यान्डसँग आठ विकेटले पराजित भएको भारतको सेमिफाइनलमा पुग्ने आशा लगभग समाप्त भइसकेको भए पनि गणितीय सम्भावना बाँकी नै रहेको छ । भारतलाई सेमिफाइनलको ढोका खुल्नका लागि समुह चरणका आफ्नो बाँकी दुई खेल जितेर मात्र अफगानिस्तान र नामिबिया मध्य एकले न्युजिल्यान्डलाई पराजित गर्न पर्ने हुन्छ ।  

त्यसका लागि अफगानिस्तान माथि ६६ रनको फराकिलो जित हात पारेको भारतले सेमिफाइनलमा स्थान बनाउने हो भने अबका दुई खेलमा स्कटल्याण्ड र नामिबिया माथि फराकिलो जित निकाल्न पर्ने हुन्छ । त्यसैले भारतलाई आजको खेलमा स्कटल्याण्डलाई फराकिलो अन्तरले पराजित गर्न पर्ने दबाब पनि रहेको छ । 

यदि अफगानिस्तान र नामिबिया मध्य एकले मात्र न्युजिल्यान्डलाई पराजित गरेको खण्डमा भारत, अफगानिस्तान र न्युजिल्यान्डको समान ६-६ अंक हुन्छ र त्यस समयमा नेट रन रेटले एउटा टोलीको भाग्य चम्काउँछ । आफ्नो सम्भावना जीवितै राख्नका लागि पनि भारतले ठुलो अन्तरको जित निकाल्न पर्ने हुन्छ । 

समुह २ बाट आफूले खेलेका चार खेलमा नै जित निकाल्दै पाकिस्तानले सेमिफाइनलको यात्रा तय गरिसकेको छ । त्यसैले पनि भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई सेमी पुग्नका लागि कम्तिमा पनि तीन जित आवश्यक रहन्छ ।   

ट्वान्टी ट्वान्टीमा यस अघि भारत र स्कटल्याण्ड एक पटक आमुन्ने सामुन्ने भए पनि उक्त खेल रद्द हुन पुगेको थियो । सन् २००७ मा आयोजना भएको पहिलो ट्वान्टी ट्वान्टी विश्वकपमा दुई देश बीचको खेलमा वर्षा बाधक बन्दा दुवैले अंक बढ्न बाध्य भएका थिए ।  

 

 

Click to comment

Trending