T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : जन्मदिनको दिन कोहलीले पहिलो पटक टस जिते 

Published

on

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत आफ्नो चौथो खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । यस अघि पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान विरुद्धका तीनवटै खेलमा भारतीय टोलीका कप्तान विराट कोहलीले टस हारे पनि आफ्नो जन्मदिनको दिन टस जितेका छन् । 

आजको खेलमा भारतले एक परिवर्तन गरेको छ भने स्कटल्याण्डले कुनै पनि परिवर्तन गरेको छैन । भारतको तर्फबाट शार्दुल ठाकुरको स्थानमा वरुण चक्रवर्थीले सुरुवाती ११ मा स्थान बनाएका छन् ।   

आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले र दोश्रो खेलमा न्युजिल्यान्डसँग आठ विकेटले पराजित भएको भारतको सेमिफाइनलमा पुग्ने आशा लगभग समाप्त भइसकेको भए पनि गणितीय सम्भावना बाँकी नै रहेको छ । भारतलाई सेमिफाइनलको ढोका खुल्नका लागि समुह चरणका आफ्नो बाँकी दुई खेल जितेर मात्र अफगानिस्तान र नामिबिया मध्य एकले न्युजिल्यान्डलाई पराजित गर्न पर्ने हुन्छ ।  

त्यसका लागि अफगानिस्तान माथि ६६ रनको फराकिलो जित हात पारेको भारतले सेमिफाइनलमा स्थान बनाउने हो भने अबका दुई खेलमा स्कटल्याण्ड र नामिबिया माथि फराकिलो जित निकाल्न पर्ने हुन्छ । त्यसैले भारतलाई आजको खेलमा स्कटल्याण्डलाई फराकिलो अन्तरले पराजित गर्न पर्ने दबाब पनि रहेको छ । यदि अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गरेको खण्डमा भारत, अफगानिस्तान र न्युजिल्यान्डको समान ६-६ अंक हुन्छ र त्यस समयमा नेट रन रेटले एउटा टोलीको भाग्य चम्काउँछ । आफ्नो सम्भावना जीवितै राख्नका लागि पनि भारतले ठुलो अन्तरको जित निकाल्न पर्ने हुन्छ । 

समुह २ बाट आफूले खेलेका चार खेलमा नै जित निकाल्दै पाकिस्तानले सेमिफाइनलको यात्रा तय गरिसकेको छ । त्यसैले पनि भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई सेमी पुग्नका लागि कम्तिमा पनि तीन जित आवश्यक रहन्छ ।   

ट्वान्टी ट्वान्टीमा यस अघि भारत र स्कटल्याण्ड एक पटक आमुन्ने सामुन्ने भए पनि उक्त खेल रद्द हुन पुगेको थियो । सन् २००७ मा आयोजना भएको पहिलो ट्वान्टी ट्वान्टी विश्वकपमा दुई देश बीचको खेलमा वर्षा बाधक बन्दा दुवैले अंक बढ्न बाध्य भएका थिए ।  

 

Click to comment

Trending