Headline

च्याम्पियन्स लिगः मेस्सी बिनाको पिएसजी रोक्कियो, म्यान सिटीको बिशाल जित

Published

on

चोटका कारण लियोनल मेस्सी अनुपस्थित रहेको च्याम्पियन्स लिग खेलमा फ्रेञ्च महारथी पेरिस सेन्ट जमाईन (पिएसजी) जर्मन क्लब आरबी लाइपजिगसँग बुधबार २–२ गोलको बराबरीमा रोक्किएको छ ।

बराबरीसँगै पिएसजीको अन्तिम १६ तर्फको यात्रा केही समयका लागि रोक्किएको छ । चार खेलको समाप्तिपछि समुह ए मा अपराजित पिएसजीको ८ अंक छ भने शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ९ अंक छ ।

सिटीले बुधबार नै भएको खेलमा बेल्जियन टोली क्लब बु्रगमाथि ४–१ को फराकिलो जित हात पार्यो । क्लब ब्रुगको चार र बराबरीले बाहिरिएको लाइपजिगको एक अंक मात्र छ । सिटी र पिएसजी दुवैलाई दुई अंकले अन्तिम १६ मा पुर्याउनेछ ।

लाइपजिगमा निर्धारित ९० मिनेट समाप्त भइसक्दा २–१ को अग्रताका साथ खेल आफ्नो पक्षमा पारिसकेको पिएसजी इन्जुरी समयको अन्तिम मिनेटमा रोक्किन पुग्यो । प्रेस्नेल किम्पेम्पेले क्रिष्टोफर एनकुंकुलाई लडाएपछि प्राप्त पेनाल्टीमा डोमिनिक जोबोस्जाईले गोल गर्दै खेललाई बराबरीमा टुंग्याएका थिए ।

एनकुंकुकै गोलमा लाइपजिगले आठौं मिनेटमा अग्रता लिएको थियो । जर्जिन्हो वाइनाल्डमले २१ र ३९ औं मिनेटमा गोल गर्दै पिएसजीलाई खेलको पकडमा राखेका थिए ।

एतिहाद स्टेडियममा सिटीले अर्को बिशाल जित हात पार्यो । फिल फोडेनको गोलबाट १५ मिनेटमा अग्रता लिएको सिटीलाई जोन स्टोन्सको आत्मघाती गोलले झड्का दिएको थियो ।

तर दोश्रो हाफमा रियाद माह्रेज, रहिम स्टर्लिङ्ग र ग्याब्रियल जिजसले गोल गरेपछि सिटीले अन्तिम १६ तर्फ एक कदम चालेको थियो ।

Click to comment

Trending