Headline

पुर्व अण्डर १९ बिश्वकप बिजेता चन्द बिबिएल खेल्ने पहिलो भारतीय

Published

on

२०१२ को अण्डर १९ बिश्वकप फाइनलमा अष्ट्रेलियाबिरुद्ध शतक प्रहार गर्दै भारतलाई च्याम्पियन बनाएका कप्तान उन्मुक्त चन्द अष्ट्रेलियन बिग ब्यास लिग खेल्न गइरहेका पहिलो भारतीय खेलाडी हुने भएका छन् ।

बिग ब्यास टोली मेलबोर्न रेनेगेड्सले उन्मुक्तलाई अष्ट्रेलियाको ट्वान्टी ट्वान्टी प्रतियोगिताका लागि अनुबन्धन गरेको घोषणा गरेको हो ।

भारतको महिला क्रिकेटरहरु बिग ब्यास लिगसहित अन्य देशका फ्रान्चाइज लिगहरु खेलेपनि पुरुष खेलाडीहरुलाई भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले आईपिएल बाहेक अन्य कुनै लिग खेल्न अनुमति दिने गरेको छैन ।

२८ बर्षिय ओपनिङ्ग ब्याट्स्म्यान चन्दले २०२१ को शुरुवातमा भारतीय क्रिकेटबाट सन्यास लिदै अमेरिकन क्रिकेटका लागि आफूलाई तैयार पारेपछि उनी अन्य बिदेशी लिगहरु खेल्नका लागि योग्य भएका थिए ।

ट्रभिस हेड, एस्टन टर्नर लगायतका खेलाडीहरु रहेको बलियो अष्ट्रेलियन टोलीबिरुद्ध शतक प्रहार गर्दै भारतलाई अण्डर–१९ बिश्वकप जिताएका चन्दलाई हालका कप्तान बिराट कोहलीपछि अर्को ठूलो स्टार बन्ने अपेक्षा गरिएको थियो ।

आइपिएलमा पहिलो सिजन दिल्ली डेयरडेभिल्स (हालको दिल्ली क्यापिटल्स) बाट खेलेका उनी मुम्बई इण्डिन्स र राजस्थान रोयल्स पुगेका थिए । तर उनले तीन वटै आइपिएल फ्रान्चाइजमा कमाल गर्न सकेनन् ।

 

दिल्लीको रणजी टिममा उनले स्थान पाउन छोडेपछि चन्दले पछिल्लो पटक उत्तराखण्डबाट घरेलु क्रिकेट खेलेका थिए । कोरोना भाइरसका कारण भारतको घरेलु क्रिकेट प्रभावित भएपनि उनले २०२१ मा सन्यास लिदै अमेरिकी लिग खेल्दै आइरहेका छन् ।

“उनले बिबिएलमा धेरै अनुभव ल्याउने छन् । तीन आइपिएल टोलीमा रहनुका साथै भारतको ए टोली र अण्डर १९ का कप्तानलाई भित्र्याउन पाउनु हाम्रो लागि ठूलो कुरा हो,” रेनेगेड्सका प्रशिक्षक डेविड सेकरले भने ।

भारतलाई अण्डर १९ बिश्वकप जिताए लगत्तै चन्द उनी भारतको दोश्रो श्रेणीको टोलीको पनि कप्तान नियुक्त भएका थिए । रेनेगेड्स टोलीले भने चन्दमाथि पूर्ण बिश्वास राखेको छ ।

“ब्याट्स्म्यानको रुपमा चन्द निकै डाइनामिक छन् र खेल परिवर्तन गर्न सक्षम पनि । उनले आफ्नो लगभग पुरै करिअर टप अर्डरमा बिताएका छन् तर हामीलाई लाग्छ उनले दिएको कुनै पनि भुमिकालाई उनी न्याय गर्न सक्छन्,” सेकरले भने ।

Click to comment

Trending