T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : चम्कियो भारतको ब्याटिङ, अफगानिस्तानलाई २११ रनको विशाल लक्ष्य 

Published

on

ओपनरद्वय केएल राहुल र रोहित शर्माले आक्रामक पारी खेल्दै अर्धशतक प्रहार गरे पछि आफ्नो गर या मरको खेलमा भारतले अफगानिस्तानलाई २११ रनको विशाल लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा दुई विकेट गुमाएर २१० रनको विशाल योगफल खडा गरेको हो ।

भारतका ओपनरद्वय शर्मा र राहुलले पहिलो विकेटको लागि १४ दशमलब चार ओभरमा १४० रनको साझेदारी गरे । भारतको तर्फबाट सर्वाधिक रन बनाएका रोहितले ४७ बलमा आठ चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ७४ रन बनाए भने राहुलले ४८ बलमा छ चौका र दुई छक्का सहित ६९ रनको पारी खेले ।

त्यस बाहेक समान १३-१३ बलको सामना गरेका ऋषभ पन्त र हार्दिक पान्ड्याले  अविजित रहँदै क्रमश २७ र ३५ रनको योगदान दिए ।

अफगानिस्तानका करिम जन्नतले आफ्नो पहिलो ओभरमा नै रोहितलाई आफ्नो शिकार बनाए भने गुलाबदीन नैबले राहुलको विकेट लिए ।        

यस समुहबाट पाकिस्तानले लगातार चार खेल जित्दै सेमीफाइनलमा स्थान बनाएका कारण भारत, न्युजिल्याण्ड र अफगानिस्तान मध्य एक टोलीले मात्र सेमीमा स्थान बनाउन सक्ने छन् । यस पटक भारतले आफ्नो पहिलो दुई खेलमा पाकिस्तानसँग न्युजिल्यान्डसँग हार व्यहोरेका कारण भारतको सेमीफाइनल यात्रा निकै कठिन बनेको छ । भारतले सेमीमा स्थान सुरक्षित गर्ने हो भने अफगानिस्तान, स्कटल्याण्ड र नामिबियालाई ठुलो अन्तरले पराजित मात्र गरेर पुग्दैन अन्य नतिजा पनि आफ्नो पक्षमा पर्न पर्ने हुन्छ ।

अफगानिस्तानले आजको खेलमा भारतलाई पराजित गर्न सकेमा उसको सेमी पुग्ने सपना पुरा हुन सक्छ । अफगानिस्तानको नेट रन रेट भारत र न्युजिल्यान्डको भन्दा निकै राम्रो भएका कारण आज जित निकाल्न सकेमा छ अंक हुन्छ र अर्को खेलमा न्युजिल्यान्डसँग पराजित भए पनि सेमीको यात्रा तय गर्न सक्छ ।

Click to comment

Trending