T20 World Cup

विश्वकपको यात्रा जीवितै राख्ने आशामा भारत अफगानिस्तानसँग भिड्दै 

Published

on

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको यात्रा जीवितै राख्ने आशामा भारतले अफगानिस्तानको सामना गर्दैछ । नेपाली समय अनुसार ७:४५ बजे सुरु हुने खेल आबु धाबीमा खेलाइने छ ।

 समूह दुईमा रहेको भारत र अफगानिस्तानले सेमीफाइनलमा स्थान बनाउने आशालाई जीवितै राख्ने हो भने आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा भारत हारेको खण्डमा उसको यस पटकको विश्वकप यात्रा यही समाप्त हुनेछ ।

यस समुहबाट पाकिस्तानले लगातार चार खेल जित्दै सेमीफाइनलमा स्थान बनाएका कारण भारत, न्युजिल्याण्ड र अफगानिस्तान मध्य एक टोलीले मात्र सेमीमा स्थान बनाउन सक्ने छन् । यस पटक भारतले आफ्नो पहिलो दुई खेलमा पाकिस्तानसँग न्युजिल्यान्डसँग हार व्यहोरेका कारण भारतको सेमीफाइनल यात्रा निकै कठिन बनेको छ । भारतले सेमीमा स्थान सुरक्षित गर्ने हो भने अफगानिस्तान, स्कटल्याण्ड र नामिबियालाई ठुलो अन्तरले पराजित मात्र गरेर पुग्दैन अन्य नतिजा पनि आफ्नो पक्षमा पर्न पर्ने हुन्छ ।

अफगानिस्तानले आजको खेलमा भारतलाई पराजित गर्न सकेमा उसको सेमी पुग्ने सपना पुरा हुन सक्छ । अफगानिस्तानको नेट रन रेट भारत र न्युजिल्यान्डको भन्दा निकै राम्रो भएका कारण आज जित निकाल्न सकेमा छ अंक हुन्छ र अर्को खेलमा न्युजिल्यान्डसँग पराजित भए पनि सेमीको यात्रा तय गर्न सक्छ ।

भारत र अफगानिस्तान ट्वान्टी ट्वान्टीमा यस अघि दुई पटक एक आपसमा भिडेका छन् । दुई भिडन्तमा भारत दुबै खेलमा विजयी भएको थियो । सन् २०१० को विश्वकपमा भारतले अफगानिस्तानलाई सात विकेटले तथा सन् २०१२ को विश्वकपमा २३ रनले पराजित गरेको थियो ।

सबैभन्दा बलियो ब्याटिङ लाइन-अप रहेको भारतीय टोलीले यस अघिका दुई खेलमा निकै दयनीय ब्याटिङ प्रदर्शन गरेको थियो । आजको खेलमा भारतीय ब्याटरहरुले विश्वका दुई उत्कृष्ट स्पिनरहरु विरुद्ध कस्तो खेल्छ भन्नेले पनि खेलमा ठुलो फरक पार्ने निश्चित छ । रशिद खान र मुजिब उर रहमानको आठ ओभरले आजको खेलमा भारत विजयी हुन्छ कि अफगानिस्तान त्यसको छिनोफानो गर्न सक्छ ।      

           

 

Click to comment

Trending