T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : नामिबिया माथि फराकिलो जित निकाल्दै पाकिस्तान सेमीफाइनलमा 

Published

on

लगातार चौथो खेलमा जित निकाल्दा पाकिस्तान युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सुपर १२ अन्तर्गतको आफ्नो चौथो खेलमा नामिबियालाई ४५ रनको फराकिलो अन्तरले पराजित गर्दा पाकिस्तान सेमीफाइनल पुग्ने दोश्रो टोली बनेको छ । हिजो समुह १ मा रहेको इंग्ल्यान्डले श्रीलंकालाई पराजित गर्दै सेमीफाइनल पुग्ने पहिलो टोली बनेको थियो ।   

पाकिस्तानले समुह चरणका चारवटै खेलमा जित निकाल्दै आठ अंक बटुलेको छ ।  पाकिस्तानले यस अघि आफ्नो पहिलो खेलमा भारतलाई १० विकेटले तथा न्युजिल्यान्ड र अफगानिस्तानलाई समान ५-५ विकेटले पराजित गरेको थियो । 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा दुई विकेटको नोक्सानीमा १८९ रनको विशाल योगफल बनायो भने जबाफी ब्याटिङ गरेको नामिबियाले पुरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । 

नामिबियाको तर्फबाट क्रेग विलियम्स ३७ बलमा ४०, ओपनर स्टेफेन बार्ड २९, कप्तान एरार्ड इरास्मस १५ रन बनाएर आउट भए भने ३१ बलको सामना गरेका डेविड विसाले दुई छक्का र तीन चौकाको मद्दतमा अविजित ४३ रनको पारी खेले ।   

पाकिस्तानका हसन अली, इमाद वासिम, हरिस रउफ र शदाब खानले समान १-१ विकेट हात पारे । 

सुस्त सुरुवात गरे पनि बाबर र रिजवानले पहिलो विकेटको लागि १४ दशमलब दुई ओभरमा ११३ रनको साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरुवात दिलाए । पहिलो १० ओभरमा मात्र ५९ रन जोड्न सकेको पाकिस्तानले बाँकी १० ओभरमा १३० रन जोड्दै विशाल योगफल बनाउन सफल भएको हो ।   

अविजित रहेका रिजवानले पाकिस्तानको तर्फबाट ५० बल खेल्दै आठ चौका र चार छक्काको मद्दतमा सर्वाधिक ७९ रन बनाए भने ४९ बलको सामना गर्दै सात चौकाको मद्दतमा ७० रन बनाए पछि बाबर डेविड विसाको बलमा क्याच आउट हुन पुगे । ४२ बलमा आफ्नो अर्धशतक पुरा गरेका रिजवानले अन्तिम ओभरमा चार चौका, एक छक्का सहित कुल २४ रन जोडे । 

जारी विश्वकपमा बाबरको ट्वान्टी ट्वान्टी खेल जीवनको २३ औं अर्धशतक हो भने रिजवानको १० औ अर्धशतक हो । यस अघि रिजवान र बाबरले भारत विरुद्धको खेलमा पनि अर्धशतक प्रहार गरेका थिए भने बाबरले अफगानिस्तान विरुद्धको खेलमा पनि अर्धशतक प्रहार गरेका थिए ।

बाबरको विकेटको पतन पछि क्रिजमा आएका फखार जमानले पाँच रन भन्दा जोड्न सकेनन् । चौथो नम्बरमा ब्याटिङ गर्न आएका मोहम्मद हफिजले पाँच चौका सहित १६ बलमा अविजित ३२ रनको योगदान दिए । 

नामिबियाका डेविड विसा र यान फ्रिलिंकले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । 

पाकिस्तानले समुह चरणको आफ्नो अन्तिम खेल आइतबार स्कटल्याण्डको सामना गर्नेछ । 

 

Click to comment

Trending