T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : बाबर र रिजवानको अर्धशतकमा नामिबियालाई विशाल लक्ष्य 

Published

on

कप्तान बाबर आजम र मोहम्मद रिजवानले अर्धशतक प्रहार गर्दा पाकिस्तानले युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो चौथो खेलमा पहिलो पटक सुपर १२ मा स्थान बनाएको नामिबियालाई १९० रनको विशाल लक्ष्य दिएको छ ।

रिजवान र बाबरले शतकीय साझेदारी गर्दा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै दुई विकेटको नोक्सानीमा १८९ रनको विशाल योगफल बनायो । पहिलो १० ओभरमा मात्र ५९ रन जोड्न सकेको पाकिस्तानले बाँकी १० ओभरमा १३० रन जोड्दै विशाल योगफल बनाउन सफल भएको हो ।  

सुस्त सुरुवात गरे पनि बाबर र रिजवानले पहिलो विकेटको लागि १४ दशमलब दुई ओभरमा ११३ रनको साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरुवात दिलाए ।

अविजित रहेका रिजवानले पाकिस्तानको तर्फबाट ५० बल खेल्दै आठ चौका र चार छक्काको मद्दतमा सर्वाधिक ७९ रन बनाए भने ४९ बलको सामना गर्दै सात चौकाको मद्दतमा ७० रन बनाए पछि बाबर डेविड विसाको बलमा क्याच आउट हुन पुगे । ४२ बलमा आफ्नो अर्धशतक पुरा गरेका रिजवानले अन्तिम ओभरमा चार चौका, एक छक्का सहित कुल २४ रन जोडे । 

बाबरको ट्वान्टी ट्वान्टी खेल जीवनको २३ औं अर्धशतक हो भने रिजवानको १० औ अर्धशतक हो । त्यस्तै जारी विश्वकपमा बाबरको तेश्रो र रिजवानको दोश्रो अर्धशतक हो । यस अघि रिजवान र बाबर दुबैले भारत विरुद्धको खेलमा पनि अर्धशतक प्रहार गरेका थिए भने बाबरले अफगानिस्तान विरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए ।

बाबरको विकेटको पतन पछि क्रिजमा आएका फखार जमानले पाँच रन भन्दा जोड्न सकेनन् । चौथों नम्बरमा ब्याटिङ गर्न आएका मोहम्मद हफिजले पाँच चौका सहित १६ बलमा अविजित ३२ रनको योगदान दिए । 

नामिबियाका डेविड विसा र यान फ्रिलिंकले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । 

समुह चरणमा यस अघि भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई पराजित गर्दै ६ अंक बटुलेको पाकिस्तानले आजको खेलमा जित पारेको खण्डमा जारी विश्वकपको सेमीफाइनलमा पुग्ने दोश्रो टोली बन्ने छ । हिजो इंग्ल्यान्डले श्रीलंकालाई पराजित गर्दै सेमीफाइनल पुग्ने पहिलो टोली बनेको थियो ।   

 

Click to comment

Trending