T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : बंगलादेश माथि सहज जित हात दक्षिण अफ्रिकाको सेमी पुग्ने आशा मजुबत 

Published

on

एनरिच नोर्किए र कागिसो रबाडाले घातक बलिङ गर्दै बंगलादेशलाई सानो योगफलमा रोक्दा युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को आफ्नो चौथो खेलमा दक्षिण अफ्रिकाले छ विकेटको सहज जित निकालेको छ । 

आजको जितसँगै दक्षिण अफ्रिकाले सेमीफाइनलमा पुग्ने आशा मजबुत बनाएको छ भने हारको सामना गर्दा बंगलादेश समुह चरणबाट नै बाहिरिएको छ । त्यस्तै आजको खेलमा दक्षिण अफ्रिकाले जित निकाल्दा बंगलादेशसँगै श्रीलंका पनि पहिलो चरणबाट नै बाहिरिएको छ ।

समुह १ बाट इंग्ल्यान्डले सेमीमा स्थान पक्का गरिसकेको छ भने यस समुहमा रहेका अष्ट्रेलिया र वेस्ट इन्डिजले पनि सेमी पुग्ने सम्भावना जीवितै राखेका छन् । दक्षिण अफ्रिकाले समुह चरणको आफ्नो अन्तिम खेलमा इंग्ल्यान्डको सामना गर्नेछ । दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई पराजित गरेको खण्डमा सिधै सेमीमा स्थान पक्का गर्नेछ भने हारको सामना गर्न परे अष्ट्रेलिया र वेस्ट इन्डिजको बाँकी खेलमा निर्भर रहन पर्नेछ ।  

आजको खेलमा हारको सामना गर्दा चार खेल खेलेको बंगलादेशले कुनै पनि जित निकाल्न सकेको छैन भने अंक तालिकामा अंक बिहिन रहँदै समुह १ को अन्तिम स्थानमा रहेको छ । चार खेल खेलेको श्रीलंकाले एक जित निकाल्दै दुई अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

एनरिच नोर्किए र कागिसो रबाडाले घातक बलिङ गर्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले १८ दशमलब दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर  ८४ रनको सानो योगफलमा समेटिन पुग्यो । जबाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १३ दशमलब तीन ओभर खेल्दै चार विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो । 

बंगलादेशलाई सानो योगफलमा समेट्ने क्रममा नोर्किए र रबाडाले समान ३-३ विकेट लिए भने तबरेज शम्सीले आफ्नो नाममा दुई विकेट दर्ता गराए । खेलको प्लेयर अफ द म्याच घोषित नोर्किएले तीन दशमलब दुई ओभरमा मात्र आठ रन खर्चिए भने रबाडाले चार ओभरमा २० रन दिए ।  

बंगलादेशका मेहेदी हसनले २७, ओपनर लिटन दासले २४ तथा शमिम हुसैनले ११ बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बंगलादेशका चार जना ब्याट्सम्यान डकआउट हुँदा तीन जना गोल्डेन डकआउट हुन पुगे ।

दक्षिण अफ्रिकाको जितमा कप्तान टेम्बा बवुमाले सर्वाधिक ३१ रनको पारी खेले भने रस्सी भान डर डुस्सेनले पनि २२ रनको योगदान दिए ।

Click to comment

Trending