T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : बटलरको शतकमा इंग्ल्यान्ड सेमीफाइनल पुग्ने पहिलो टोली

Published

on

ओपनर जस बटलरले अविजित शतक प्रहार गरे पछि श्रीलंका माथि २६ रनको फराकिलो जित दर्ता गर्दै इंग्ल्यान्ड युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सेमीफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

समुह १ मा रहेको इंग्ल्यान्डले चार खेलमा चार जित हात पार्दै सेमीफाइनलमा स्थान पक्का गरेको हो । चार खेलमा चार जित दर्ता गर्दा इंग्ल्यान्डको आठ अंक रहेको छ भने आजको खेलमा पराजित भएको श्रीलंकाको चार खेल मध्य एक खेलमा मात्र जित निकाल्न सकेको थियो भने बाँकी तीन खेलमा हारको सामना गर्न पुगेको छ । आजको हार पछि श्रीलंकाको सेमीफाइनल यात्रा लगभग समाप्त भएको छ ।

आफ्नो पहिलो खेलमा साबिक विजेता वेस्ट इन्डिजलाई ५५ रनमा रोक्दै छ विकेटको सहज जित दर्ता गराएको इंग्ल्यान्डले दोश्रो र तेश्रो खेलमा क्रमश बंगलादेश र अष्ट्रेलियालाई समान ८-८ विकेटले पराजित गरेको थियो । 

 लगातार रुपमा विकेट गुमाए पनि ओपनर बटलरले अविजित १०१ रनको आक्रामक पारी खेल्दा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १६३ रनको चुनौतिपूर्ण योगफल तयार पार्यो । जितका लागि १६४ रनको लक्ष्य पक्ष्याएको श्रीलंकाले अन्तिम १३ बलमा पाँच विकेट गुमाउँदा १९ ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १३७ रन बनाउन सक्यो । 

अर्का ओपनर जेसन रोय नौ, डाविड मलान ६ तथा जोनी बैरस्टोव गोल्डेन डकआउट हुँदा इंग्ल्यान्ड पाँच दशमलब दुई ओभरमा तीन विकेटको नोक्सानीमा ३५ रनको अवस्थामा खुम्चिन पुग्यो ।   

इंग्ल्यान्डले खराब सुरुवात गरे पनि बटलरले कप्तान ओएन मोर्गनसँग चौथो विकेटका लागि १३ ओभरमा ११२ को साझेदारी गर्दै इंग्ल्यान्डलाई चुनौतिपूर्ण योगफल सम्म डोर्याए । सुस्त सुरुवात गरेका कप्तान मोर्गन ३६ बलमा ४० रन बनाएर पेभेलियन फर्किए ।

मोर्गनको विकेटको पतन पछि पनि बटलर भने रोकिएनन् । अन्तिम बलमा ९५ रनको अवस्थामा रहेको स्थितिमा उनले छक्का प्रहार गर्दै ट्वान्टी ट्वान्टीमा आफ्नो पहिलो शतक पनि बनाए । उनी ट्वान्टी ट्वान्टीमा शतक प्रहार गर्ने चौथो इङ्ग्लिस ब्याटर हुन् भने ट्वान्टी ट्वान्टी विश्वकपमा शतक बनाउने दोश्रो ब्याटर हुन् ।  

निकै सुस्त सुरुवात गरेका बटलरले ४५ बलमा अर्धशतक पुरा गरे पनि त्यस पछिको २२ बलमा आफ्नो दोश्रो ५० रन पुरा गर्दै शतक बनाएका हुन् । यसै क्रममा बटलरले ट्वान्टी ट्वान्टी विश्वकपमा इंग्ल्यान्डका ब्याटर मध्य सुस्त अर्धशतक बनाउने नराम्रो किर्तिमान पनि आफ्नो नाममा लेखाए ।

श्रीलंकाका वानिन्दु हसरंगाले चार ओभरमा मात्र २१ रन दिएर सर्वाधिक तीन विकेट हात पारे । 

श्रीलंकाको लागि हसरंगाले सर्वाधिक ३४ रन बनाए भने भानुका राजापक्षा र कप्तान दासुन शनाकाले समान २६-२६ रनको पारी खेले ।

इंग्ल्यान्डको जितमा बलिङ तर्फ मोईन अली, आदिल रशिद र क्रिस जोर्डनले समान २-२ विकेट हात पारे । रशिदले चार ओभरमा १९ रन खर्चिए भने अलीले तीन ओभरमा १५ तथा चार ओभर नै बलिङ गरेका जोर्डनले २४ रन दिए ।   

 

Click to comment

Trending