Headline

बिश्वकपपछि पनि सन्यास नलिने मनसायमा मेस्सी

Published

on

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले अर्को बर्षको बिश्वकपपछि सन्यास लिने कुनै सोच नबनाएको बताउदै खेलाडीको रुपमा करिअर समाप्त गरेपनि बार्सिलोनाको स्पोर्टिङ्ग डिरेक्टरको रुपमा काम गर्ने चाहना रहेको बताएका छन् ।

६ पटकको बालोन डि ओर बिजेता मेस्सी कतारमा अर्को बर्ष बिश्वकप हुँदा ३५ बर्षको हुने छन् । आफ्नो करिअरमा सबै उपाधि जितेका मेस्सीले बिश्वकप मात्र जितेका छैनन् ।

अगष्टमा आफ्नो बाल्यकालदेखिको क्लब बार्सिलोना छोडेपछि मेस्सी जुन २०२३ सम्मका लागि फ्रेञ्च महारथी पेरिस सेन्ट जमाईनसँगको सम्झौतामा बाँधिएका छन् भने त्यसमा एक बष थप्ने बिकल्प पनि रहेको छ ।

एक क्याटलन पत्रिका, स्पोर्ट, लाई दिइएको अन्तर्वार्तामा सन्यास अहिले आफ्नो एजेण्डामा नरहेको उनले बताए ।

“साच्चिकै भने यो कुरा अहिले मेरो दिमागमै आएको छैन । जति कुरा पनि मेरो जीवनमा भएको छ, म दिन प्रति दिन र बर्ष प्रति बर्षको हिसाबले जिउदै आएको छु । बिश्वकपमा र त्यसपछि के हुन्छ मलाई थाहा छैन । तर अहिले म सन्यासको बारेमा सोचिरहेको छैन,” उनले भने ।

झण्डै २० बर्षपछि बार्सिलोना छोड्नु आफ्नो लागि दुखद रहेको बताएपनि उनी एक दिन फर्किएर बार्सिलोनामै बस्ने र क्लबको स्पोर्टिङ्ग डिरेक्टरको रुपमा काम गर्ने इच्छा रहेको चाहना राखे ।

रोनाल्ड कोमन बर्खास्त भएपछि मेस्सीको बार्सिलोनामा लामो समयदेखिका टिममेट जाभी अबको प्रशिक्षक हुने लगभग पक्का रहेको छ । “हामी बार्सिलोनामै बस्नका लागि फर्कने छौं । हाम्रो जीवन त्यही बित्ने छ, यो कुरामा म बिश्वस्त छु । मेरो श्रीमती र त्यही चाहन्छौं,” मेस्सीले भने ।

“मलाई थाहा छैन यो कुरा मेरो पेरिसमा सम्झौता सक्किने बित्तिकै हुनेछ वा अन्य कुनै दिन तर हामी बार्सिलोनामै जीवन बिताउनका लागि फर्कनेछौं । कुनै समय म बार्सिलोनाको स्पोर्टिङ्ग डिरेक्टर हुन चाहन्छु । यो बार्सिलोनामा हुन्छ हुँदैन मलाई थाहा छैन तर म बार्सिलोनालाई नै मद्दत गर्न चाहन्छु ।”

 

Click to comment

Trending