Headline

ज्लाटनको ४ सयौं लिग गोलमा मिलानको महत्वपूर्ण जित

Published

on

४० बर्षिय ज्लाटन इब्राहिमोभिचले आफ्नो करिअरको चार सयौं लिग गोल गरेपछि एसि मिलानले इटालियन सिरी आ मा महत्वपूर्ण जित हात पारेको छ ।

अवे खेलमा मिलानले एएस रोमामाथि २–१ को जित हात पार्दा दुवै गोलमा ज्लाटनकै संलग्नता रह्यो । जितपछि मिलानले शिर्ष स्थानको नापोलीसँग बराबरी गरेको छ । ११ औं चरणको खेलपछि दुवै टोलीको समान ३१ अंक रहेको छ भने नापोली गोल अन्तरको आधारमा शिर्ष स्थानमा छ ।

यो सिजन नापोली र मिलान पहिलो ११ मध्ये १० खेल जित्ने दुई मात्र टोली हुन् । नापोली आइतबार भएको पहिलो खेलमा रेलिगेसन जोनमा रहेको सालेरनितानामाथि १–० को संघर्षपूर्ण जित हात पार्यो ।

तेश्रो स्थानमा रहेको डिफेन्डिङ्ग च्याम्पियन इन्टर मिलान ७ अंकले पछि रहेको छ भने रोमा र एट्लान्टाको समान १९ अंक छ । लगातार ९ पटकको बिजेता युभेन्टसले भने यो सिजन खराब शुरुवात गर्दा मात्र १५ अंकका साथ नवौं स्थानमा रहेको छ ।

आइतबार ज्लाटनले २५ औं मिनेटमा फ्रि किक मार्फत गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ज्लाटनले सिरी आ मा मात्रै १ सय ५० गोल गरिसकेका छन् । ५७ औं मिनेटमा ज्लाटनलाई रोजर इबानेजले फउल गरेपछि मिलानले पेनाल्टी पाएको थियो । त्यसलाई फ्रांक केस्सीले गोलमा परिणत गरे ।

६६ औं मिनेटमा थियो हर्नान्डेज दोश्रो पहेलोका कार्डका कारण मैदानबाट बाहिरिएपछि मिलान १० खेलाडीमा सिमित भएको थियो । रोमाले यसको फाइदा उठाउन सकेन । इन्जुरी समयको तेश्रो मिनेटमा स्टेफन एल सारावीले पुर्व क्लबबिरुद्ध सान्त्वना गोल गरेका थिए ।

अन्य खेलमा इन्टरले युडिनेजीमाथि २–० को जित हात पार्यो भने सातौं स्थानको फियोरेन्टिनाले स्पेजियालाई ३–० ले हरायो । लाजियो र फियोरेन्टिनाको समान १८ अंक छ । एम्पोलीले सासुलोलाई २–१ ले पराजित गर्यो भने जनोआ र भनेजियाले गोलरहित बराबरी खेले ।

Click to comment

Trending