Headline

साँस फेर्न गाह्रो भएपछि अगुएरोलाई खेल दौरान नै हस्पिटल पुर्याइयो

Published

on

बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरोलाई साँस फेर्न समस्या भएपछि आलाभेसबिरुद्धको स्पेनिस ला लिगा खेल दौरान नै हस्पिटल पुर्याइएको छ ।

यो सिजन उदेक लाग्दो शुरुवात गरेको बार्सिलोनाले शनिबार आलाभेससँग १–१ को बराबरी खेलेको थियो । क्याम्प नोउमा ३३ बर्षिय अगुएरो ४१ औं मिनेटमा छाती समात्दै मैदानबाट बाहिरिएका थिए । उनलाई के कारण समस्या भएको स्पष्ट थिएन ।

मैदानमा केही समय प्राथमिक उपचार पाएका अगुएरोका लागि शुरुवातमा स्ट्रेचर ल्याइए पनि उनी उठेरै बाहिर निक्लिएका थिए ।

“छाँतीमा अप्ठेरो भएको बताएपछि सर्जियो अगुएरोलाई कार्डियाक परिक्षणका लागि हस्पिटलमा भर्ना गरिएको छ,” खेलपछि बार्सिलोनाले औपचारिक रुपमा जानकारी दिएको थियो । “मैले उनलाई सोध्दा आफूलाई केही रिँगटा लागेको जस्तो महसुस भएको बताएका थिए । मलाई उनलाई हस्पिटल लगियो भनियो यो बाहेक अरु केही पनि थाहा छैन,” बार्सिलोनाका अन्तरिम प्रशिक्षक सर्जि बरुवानले भने ।

खेलमा मेम्फिस डिपेले ४९ औं मिनेटमा बार्सिलोनालाई अग्रता दिलाए पनि तीन मिनेटपछि नै लुईस रायोजाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । बार्सिलोना अझै पनि ला लिगामा नवौं स्थानमा छ ।

एल्चेमाथि २–१ को जित हात पारेको रियल म्याड्रिड २४ अंक सहित शिर्ष स्थानमा कायमै छ । ११ खेलको समाप्तिपछि रियल, सेभिया र रियल सोसिडाडको समान २४ अंक छ । यसअघिको खेलमा रायो भालेकानोसँग पनि हारेको बार्साको १६ अंक छ ।

रियल बेटिसको २१, भालेकानो, डिफेन्डिङ्ग च्याम्पियन एट्लेटिको म्याड्रिड र ओसासुनाको १९ अंक छ । एट्लेटिकोले एक खेल कम र ओसासुनाले एक खेल बढी खेलेको छ ।

Click to comment

Trending