T20 World Cup

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिँदै अफगानिस्तानका पूर्व कप्तान अस्गर अफगान

Published

on

अफगानिस्तानका पूर्व कप्तान अस्गर अफगानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् । युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को आज हुने नामिबियासँगको खेल ३३ वर्षीय अफगानको अफगानिस्तानको जर्सीमा अन्तिम खेल हुनेछ ।

अफगानले अफगानिस्तान क्रिकेट बोर्डलाई आफ्नो सन्यासको बारेमा जनाएको र बोर्डले पनि उनको निर्णयलाई सम्म गर्दै उनको निर्णयलाई स्वीकृत दिएको छ ।

सन् २००९ मा डेब्यु गरेका अफगानले अफगानिस्तानको लागि ७४ ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा २१ दशमलब ७९ को औसत र ११० दशमलब ३७ को स्ट्राइक रेटमा १३ सय ५१ रन बनाएका छन् । उनले एकदिवसीयमा ११४ खेलमा २४ सय २४ रन आफ्नो नाममा लेखाएका थिए ।

उनी अफगानिस्तानले सन् २०१८ मा भारत विरुद्ध आफ्नो पहिलो टेस्ट खेल्दाका पनि कप्तान हुन् । उनले अफगानिस्तानको तर्फबाट ६ टेस्ट खेल्दै ४४० रन बनाएका थिए ।

सन् २००४ मा यु१७ बाट अफगानिस्तानबाट खेलेका उनले सन् २००५ मा राष्ट्रिय टोलीमा स्थान बनाएका थिए ।

अफगानलाई राम्रो ब्याटर भन्दा पनि राम्रो कप्तानका रुपमा चिनिन्छ । उनले ११४ एकदिवसीय र ७४ ट्वान्टी ट्वान्टी खेल मध्य क्रमश ५९ र ५२ खेलमा अफगानिस्तानको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा अफगानिस्तानले ४२ ट्वान्टी ट्वान्टीमा जित दर्ता गराएको थियो । 

उनी ट्वान्टी ट्वान्टीमा धेरै जित हात पार्ने कप्तानको सूचीको पहिलो स्थानमा छन् । अफगानले धेरै जित हात पार्ने कप्तानको सुचीमा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई पनि पछि पारेका छन् । अफगानले ४२ खेलमा जित दर्ता गराउँदा धोनीले ४१ खेलमा मात्र जित हात पार्न सफल भएका थिए ।    

सन् २०१९ को विश्वकप अघि पनि बोर्डलाई उनलाई कप्तानबाट हटाएको थियो भने त्यसै वर्षको अन्त्यमा फेरी उनलाई नै कप्तान नियुक्त गरेको थियो । त्यसको १५ महिना पछि फेरी उनलाई कप्तानबाट बर्खास्त गरिएको थियो ।   

 

Click to comment

Trending