Headline

बार्साद्वारा प्रशिक्षक कोमन बर्खास्त, जाभीले बागडोर सम्हाल्न सक्ने

Published

on

रायो भालेकानोसँग १–० ले स्तब्ध भए लगत्तै स्पेनिस महारथी बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कोमनलाई बर्खास्त गरेको छ । उनको स्थान अब क्लब लेजेण्ड जाभी हर्नान्डेजले लिने सम्भावना पनि बढेको छ ।

स्पेनिस ला लिगाको नवौं स्थानमा रहेको बार्सिलोनाले पछिल्लो ७ खेलमा मात्र दुईमा जित हात पारेको छ । यस दौरान क्याम्प नोउमा रियल म्याड्रिडसँग २–१ को हार पनि रहेको छ ।

खराब शुरुवात गरेको कारण बार्सिलोनाको अर्को सिजन च्याम्पियन्स लिगको सहभागिता पनि क्षीण बन्दै गएको छ । यसअघि नै खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको बार्सिलोनाका लागि यो अर्को ठूलो धक्का हुनेछ ।

हाल कतारी क्लब अल सादको प्रशिक्षक रहेका जाभी कोमनको ठाँउमा नियुक्त हुने सम्भावना रहेको छ । यसअघि पनि कोमन आउनु अघि उनको नाम बार्सिलोना बोर्डमा प्रस्ताव भएको थियो ।

अर्को अन्तर्राष्ट्रिय बिश्राम अघि हुने ला लिगाको आलाभेस र च्याम्पियन्स लिगको डाइनामो किभबिरुद्धको खेलका लागि बार्सिलोना बी का प्रशिक्षक सर्जि बरवान अन्तरिम प्रशिक्षकको रुपमा रहन सक्नेछन् ।

रिभर प्लेटका प्रशिक्षक मार्सेलो गालार्डो र आयाक्सका एरिक टेन ह्याग पनि बार्सिलोनाको प्रशिक्षक रहने सम्भावना रहे पनि उनीहरु मिड सिजनमा आफ्नो क्लब छोड्ने शंका रहेको छ ।

अगष्ट २०२० मा नियुक्त भए पछि कोमनले बार्साका लागि कोपा डेल रे जित्दै लियोनल मेस्सीलाई क्लबमै राखेपनि ला लिगामा खराब प्रदर्शनसँगै पिएसजीसँग च्याम्पियन्स लिग क्वार्टर फाइनलमा पराजित हुँदा उनको जागिर यसअघि नै धरापमा रहेको थियो ।

Click to comment

Trending