T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : इंग्ल्यान्डको उत्कृष्ट प्रदर्शन जारी

Published

on

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपमा इंग्ल्यान्डले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ । आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजलाई मात्र ५५ रनमा रोक्दै सहज जित हात पारेको इंग्ल्यान्डले आज बंगलादेशलाई आठ विकेटले पराजित गरेको हो ।

स्पिनर मोईन अलीले पारीको सुरुवातमा नै दुई विकेट हात पार्दा बंगलादेशलाई मात्र २० ओभरमा नौ विकेटमा १२४ रनमा रोक्न सफल भएको इंग्ल्यान्डले जेसन रोयको अर्धशतकमा १४ दशमलब एक ओभर खेल्दै दुई विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

 खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशका ओपनरद्वय लिटन दास र मोहम्मद नैमलाई क्रमश नौ र पाँच रनमा आउट पार्दै अलीले इंग्ल्यान्डलाई राम्रो सुरुवात दिए । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका शाकिब अल हसनले पनि चार रन भन्दा जोड्न सकेनन् ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका मुशफिकर रहिमले २९ तथा कप्तान मोहम्मदउल्लाहले १९ रन जोड्दै बंगलादेशको पारी सम्हाल्ने प्रयास गरे पनि दुबै जना लियाम लिभिङस्टोनको बलमा आउट हुँदा बंगलादेश सम्हालिन सकेन ।

नुरुल हसनले १६, मेहेदी हसनले ११ तथा नासुम अहमदले अविजित १९ रन जोड्दै बंगलादेशलाई तीन अंकको स्कोर पार गराए ।

इंग्ल्यान्डका टिमल मिल्सले सर्वाधिक तीन विकेट हात पार्दा अली र लिभिङस्टोनले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

इंग्ल्यान्डको जितमा जेसन रोयले आक्रामक पारी खेल्दै ३८ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ६१ रन बनाए भने डाविड मलानले पनि अविजित २८ रनको योगदान दिए ।     

 

Click to comment

Trending