T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : स्कटल्याण्ड सुपर १२ मा, सुपर १२ मा भारत, पाकिस्तान र अफगानिस्तानसँग भिड्ने 

Published

on

आयोजक राष्ट्र ओमान माथि आठ विकेटको सहज जित हात पार्दै स्कटल्याण्डले ट्वान्टी ट्वान्टी विश्वकपको सुपर १२ मा स्थान बनाएको छ । आजको खेलमा पराजित हुँदा आयोजक ओमानको भने सुपर १२ पुग्ने सपनामा तुसारोपात लाग्न पुगेको छ ।  

समुह चरणको तीन खेलमा नै जित हात पारेको स्कटल्याण्डले समुह बी को विजेताका रुपमा सुपर १२ मा प्रवेश पाएको हो । स्कटल्याण्डले सुपर १२ को समुह २ मा प्रवेश पाएको हो र यस समुहमा भारत, पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान जस्ता टोली रहेका छन् भने छैठौं टोलीका रुपमा समुह ए को उपविजेताले स्थान बनाउने  छ ।

समुह बी बाट स्कटल्याण्डसँगै दुई खेल जितेको बंगलादेशले पनि सुपर १२ मा स्थान बनाएको छ । ओमानले भने आफुले खेलेका तीन मध्य एक खेलमा मात्र जित हात पार्न सक्दा पपुवा न्यु गिनी जित विहिन रहन पुग्यो ।

बलरहरु जश डेवी, सफ्यन शरिफ र माइकल लिस्कले लगातार रुपमा विकेट हात पार्दा ओमान मात्र १२२ रनमा समेटियो भने स्कटल्याण्डले १७ ओभर खेल्दै दुई विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो । 

स्कटल्याण्डको जितमा ब्याटिङ तर्फ ओपनिङमा ब्याटिङ गर्न आएका कप्तान कायल कोट्जरले २८ बलमा सर्वाधिक ४१ तथा अर्का ओपनर जर्ज मुन्से २० रन बनाएर पेभेलियन फर्किए भने विकेट किपर म्याथ्यु क्रस र रिची बेरिङटनले अविजित रहँदै क्रमश २६ र ३१ रन बनाए ।     

ओमानका कप्तान जिशन मकसुदले खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे । तर उनको निर्णय गलत साबित हुन पुग्यो जब ओमानले ओपनर जतिन्दर सिंह (गोल्डेन डकआउट) र तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका कश्यप प्रजापति (आठ बलमा तीन रन) लाई गुमाउन पुग्यो । 

अर्का ओपनर अकिब इलियासले ओमानको तर्फबाट ३७, कप्तान मकसुदले ३४ तथा मोहम्मद नदिमले २५ रन जोड्दै तीन अंक पार गराए पनि त्यस पछिका कुनै पनि ब्याटरलले दोहोरो अंकमा रन जोड्न नसक्दा ओमान सानो योगफलमा नै समेटिन पुग्यो ।

ओमानलाई सानो योगफलमा रोक्ने क्रममा स्कटल्याण्डका जश डेवीले सर्वाधिक तीन विकेट लिए भने सफ्यन शरिफ र माइकल लिस्कले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।     

 

Click to comment

Trending