T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप छनोट : शकिबको अलराउण्ड प्रदर्शनमा बंगलादेश सुपर १२ मा 

Published

on

शकिब अल हसन ब्याटिङ र बलिङमा चम्कँदा पपुवा न्यु गिनी माथि ८४ रनको फराकिलो जित हात पार्दै बंगलादेशले ओमान र युएईमा संयुक्त रुपमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सुपर १२ मा स्थान सुरक्षित गरेको छ ।

पहिलो खेलमा स्कटल्याण्डसँग ६ रनले स्तब्ध हुँदा प्रतियोगितामा खराब सुरुवात गरेको बंगलादेशलाई सुपर १२ मा पुग्न पपुवा न्यु गिनी माथि फराकिलो जित आवश्यक रहेको थियो । शकिबले ब्याटिङ तर्फ ३७ बलमा ४६ रनको पारी  खेले भने पपुवा न्यु गिनीको पारी ध्वस्त पार्ने क्रममा चार ओभर बलिङ गर्दै मात्र नौ रन खर्चिएर चार विकेट हात पारे पछि बंगलादेशको सुपर १२ को यात्रा तय भएको हो ।

समुह बी मा रहेको बंगलादेशले तीन खेलमा दुई जित निकाल्दै चार अंक सहित दोश्रो चरणमा स्थान बनाएको हो । दुई खेलमा दुई जित निकालेको स्कटल्याण्डको पनि चार अंक छ भने दुई खेलमा एक जित निकालेको ओमानको दुई अंक रहेको छ । अब समुह बी बाट सुपर १२ मा पुग्ने दोश्रो टोलीको निर्णय ओमान र स्कटल्याण्ड बीच आज नै हुने दोश्रो खेलले निर्धारण गर्नेछ । 

स्कटल्याण्डले जित निकालेको खण्डमा उसले दोश्रो चरणमा सुरक्षित गर्नेछ भने ओमानले फराकिलो जित निकालेको खण्डमा स्कटल्याण्डलाई पाखा लगाउँदै सुपर १२ को लागि युएईको टिकट काट्ने छ ।     

बंगलादेशले दिएको १८२ रनको विशाल लक्ष्य पछ्याएको पपुवा न्यु गिनीले १९ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो  

एक समय २९ रनमा सात विकेट गुमाएको पपुवा न्यु गिनीको लागि विकेट किपर ब्याट्सम्यान किपलिन डोरिगाले अविजित रहँदै सर्वाधिक ४६ रन बनाए भने तीन अंकको स्कोर नजिक सम्म पुर्याए । डोरिगा बाहेक चाद सोपरले ११ रनको पारी खेले भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।   

बंगलादेशको तर्फबाट शकिब बाहेक मोहम्मद सैफउद्दिन र तस्किन अहमदले समान २-२ विकेट हात पारे ।  

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले कप्तान महमदउल्लाहको आक्रामक अर्धशतकको मद्दतमा सात विकेट गुमाएर १८१ रनको विशाल योगफल तयार पार्यो । 

ओपनर मोहम्मद नैम शून्य रनमा आउट हुँदा खराब सुरुवात गरेको बंगलादेशको पारी सम्हाल्ने क्रममा अर्का ओपनर लिटन दासले २९ तथा शकिबले ४६ बनाए । मुश्फिकर रहिम पनि पाँच रन जोड्दै पेभेलियन फर्किए पनि कप्तान महमदउल्लाहले  खेल्दै समान ३-३ चौका र छक्काको मद्दतमा ५० रन जोड्दै बंगलादेशलाई विशाल योगफल तर्फ डोर्याए । 

बंगलादेशको लागि अफिफ होसेनले १४ बलमा २१ तथा मोहम्मद सैफउद्दिनले छ बलमा दुई चौका र एक छक्काको मद्धतमा १९ रन जोडे । 

पपुवा न्यु गिनीका कबुआ मोरे, डेमिन रावु र असद भालाले समान २-२ विकेट हात पारे ।

Click to comment

Trending