Headline

ट्वान्टी ट्वान्टी बिश्वकपः बलिँग र ब्याटिंँगमा पुनरागमनपछि श्रीलंका सुपर १२ मा

Published

on

ब्याटिँगपछि बलिँगमा पनि पुनरागमन गर्दै श्रीलंका आईसीसी ट्वान्टी ट्वान्टी बिश्वकपको सुपर १२ मा प्रवेश गरेको छ । अबु धाबीमा समुह ए को खेलमा लगातार दोश्रो जित हात पार्ने क्रममा श्रीलंकाले आयरल्याण्डलाई ७० रनको फराकिलो अन्तरले पराजित गर्यो ।

पहिलो दुई खेलपछि श्रीलंकाको चार अंक भएको छ । श्रीलंकाको जितसँगै नेदरल्याण्ड्स भने बाहिरिएको छ । अब समुहबाट सुपर १२ प्रवेश गर्नका लागि एक मात्र स्थानका लागि नामिबिया र आयरल्याण्ड भिड्ने छन् । नेदरल्याण्ड्सलाई पराजित गरेका दुवैको २–२ अंक रहेको छ ।

अन्तिम खेलमा श्रीलंका र नेदरल्याण्ड्स खेल्ने छन् भने आयरल्याण्ड र शनिबार डच टोलीलाई स्तब्ध गरेको नामिबियाबीचको खेल निर्णायक बन्नेछ । जोश लिटलले चार विकेट लिएपछि आयरल्याण्डले श्रीलंकाको उत्कृष्ट पुनरागमनमा ब्रेक लगाउदै एक पटकको ट्वान्टी ट्वान्टी बिश्वकप बिजेतालाई १ सय ७१ रनमा रोकेको थियो ।

यसअघि बिश्वकपका खेलहरुमा ठूलो टिमहरुको शिकार गर्दै आनो उपस्थिति जनाउदै आएको आयरल्याण्ड श्रीलंकाबिरुद्ध भने असफल रह्यो । आयरल्याण्ड १८ दशमलव ३ ओभरमा ९ विकेट गुमाउदै १ सय १ रनमात्र बनाउन सफल भयो ।

पहिलो तीन विकेट ३२ रनमै गुमाएको आयरल्याण्डलाई कर्टिस क्याम्फर र कप्तान एण्डी बालबर्नीले ५३ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए । तर दुवै ब्याट्स्म्यान आउट भएपछि आयरल्याण्डको इनिङ्गस धराशायी बन्यो ।

आयरल्याण्डले आफ्नो अन्तिम ७ विकेट मात्रै १६ रनमा गुमाएको थियो । श्रीलंकाका लागि महिस थिक्सानाले चार ओभरमा मात्र १७ रन खर्चदै तीन विकेट लिएका थिए । यस्तै लाहिरु कुमारा र चमिका करुणारत्नेले २–२ विकेट लिएका थिए ।

बालबर्नीले ३९ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ४१ रन बनाए भने क्याम्फरले २८ बलमा २४ रन जोडे । अन्य कुनै ब्याट्स्म्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि ओपनर पाथुम निसांका र वानिन्दु हसरँगा डि सिल्भाले शतकीय साझेदारी गर्दै श्रींलकालाई पनरागमन गराएका थिए । आयरल्याण्ड अन्तिम पाँच ओभर खेलमा फर्कदै श्रीलंकालाई ४० रनमै रोक्न सफल भएपनि उसको लागि लक्ष्य भने बिशाल बन्न पुग्यो ।

पहिलो ओभरको दोश्रो बलमै कुशल पेरेरा (शुन्य) पल स्टर्लिङ्गको बलमा आउट भएपछि दोश्रो ओभरमा जोश लिटलले पुर्व कप्तान दिनेश चण्डिमाल (६) र अभिष्का फर्नाण्डोलाई लगातार बलमा पेभिलियन फर्काएका थिए । त्यसपछि निसांका र डि सिल्भाले उत्कृष्ट पुनरागमन गर्दै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा क्रमश आफ्नो करिअरको उच्च योगफल बनाउदै श्रीलंकालाई बलियो स्थानमा पुर्याएका थिए ।

१ सय २३ रनको साझेदारीमा आक्रमक देखिएका डि सिल्भाले ४७ बलमा ७१ रन जोडे । उनले १० चौका र एक छक्का प्रहार गरे । १६ औं ओभरको शुरुवातमा १ सय ३१ रन बनाउनुका साथै ७ विकेट हातमै रहेपनि श्रीलंकाले डि सिल्भाको विकेट पतनपछि शतकीय साझेदारीलाई बिशाल योगफलमा परिणत गर्न सकेन ।

लिटलले निसांकाको पनि विकेट लिदा श्रीलंकन ओपनरले ४७ बलमा ६१ रन बनाउदै ६ चौका र एक छक्का हिर्काए । यस बाहेक कप्तान दासुन सनाकाले ११ बलमा २१ रन जोडे । लिटलले चार ओभरमा २३ रन खर्चिए भने मार्क अडेयरले उत्तिकै ओभरमा ३५ रन दिदै दुई विकेट लिए ।

Click to comment

Trending