Headline

ट्वान्टी ट्वान्टी बिश्वकपः नेदरल्याण्ड्सलाई स्तब्ध पार्दै नामिबियाको ऐतिहासिक जित

Published

on

पुर्व दक्षिण अफ्रिकी ब्याट्स्म्यान डेविड विजले बिष्फोटक ब्याटिङ्ग गरेपनि नामिबियाले आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकपमा नेदरल्याण्ड्सलाई ६ विकेटले स्तब्ध पार्दै आफ्नो क्रिकेट इतिहासको सबैभन्दा ठूलो जित हात पारेको छ ।

बिश्वकप अथवा कुनै पनि ठूलो आईसिसि प्रतियोगितामा नामिबियाले यो पहिलो जित हात पारेको हो ।

अबु धाबीमा भएको समुह ए अन्तर्गतको खेलमा जारी बिश्वकपको पहिलो जित हात पार्ने क्रममा म्यान अफ द म्याच विजले २९ बलमै अद्र्धशतक प्रहार गरेका थिए । अन्तिम दुई ओभरमा १५ रन चाहिएको अवस्थामा लोगन भान बिकले गरेको १९ औं ओभरमै नामिबियाले १६ रन जोडेको थियो । जेजे स्मिट (१४) ले लगातार दुई बिजयी चौका प्रहार गरेका थिए ।

पहिलो ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले ओपनर म्याक्स ओ डाउडको लगातार दोश्रो अद्र्धशतकको मद्दतमा चार विकेटको क्षतिमा १ सय ६४ रनको चुनौतिपूर्ण योगफल खडा गर्यो । नामिबायाले १९ ओभरमा जित हात पार्यो ।

विज ४० बलमा पाँच छक्का र चार चौका सहित ६६ रनमा नटआउट रहे । नामिबियाले ५२ रनमा तीन विकेट गुमाएपछि विजले कप्तान जेरहार्ड इर्यास्मससँग ९३ रनको निर्णायक साझेदारी गरेका थिए । इर्यास्मसले २२ बलमा ३२ रन जोड्दा चार चौका र एक छक्का प्रहार गरे ।

पहिलो जितसँगै नामिबियाले सुपर १२ को दौडमा आफूलाई कायमै राखेको छ । आयरल्याण्डसँग पनि पराजित नेदरल्याण्ड्स भने लगभग बाहिरिएको छ ।

नेदरल्याण्ड्सको इनिङ्गस एक पटक फेरि ओ डाउडको वरिपरि घुमेको थियो । ५६ बलमा ७० रन बनाएका उनले पहिलो विकेटका लागि स्टेफन माइबर्ग (१७) सँग ४२ रनको साझेदारी गरेका थिए । नेदरल्याण्ड्सले माइबर्ग र रुलोफ भान डर मर्वलाई १३ रनको अन्तरमा गुमाएपछि ओ डाउडले कोलिन एकरम्यानसँग ८२ रनको बिशाल साझेदारी गरेका थिए ।

एकरम्यानले ३२ बलमा ३५ रन बनाए भने स्कट एड्वार्ड्सले ११ बलमा २१ रन जोडे । ओ डाउडको इनिङ्गसमा ६ चौका र एक छक्का सामेल थियो । नामिबियाका लागि यान फ्राइलिंकले दुई विकेट लिएका थिए ।

Click to comment

Trending