Headline

सलाहको उच्च लयमा लिभपुरको एट्लेटिकोमाथि सनसनीपूर्ण जित

Published

on

मोहम्मद सलाहले आफ्नो उत्कृष्ट लयलाई कायमै राखेपनि च्याम्पियन्स लिगको निकै नै सनसनीपूर्ण खेलमा लिभरपुलले स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिडलाई ३–२ ले पराजित गरेको छ ।

म्याड्रिडमा भएको नाटकीय खेलमा सलाह र नाबी किटाले पाँच मिनेटको अन्तरमा दुई गोल गर्दै १३ मिनेटभित्रै लिभरपुललाई २–० को अग्रता दिलाएका थिए । एन्टोइन ग्रिजमनले त्यसपछि २० र ३४ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए ।

फ्रेञ्च फर्वार्ड ग्रिजमन ५२ औं मिनेटमा रोबर्टो फर्मिनोलाई बल खोस्ने क्रममा खुट्टाले मुखमा प्रहार गरेपछि सोझै रेडकार्ड खादै बाहिरिएपछि आक्रमणमा दुवै टोली खतरनाक रहेको खेलमा लिभरपुलले बाजी मार्यो । ७८ औं मिनेटमा मारियो हेर्मोसोले डियोगो जोटालाई लडाएपछि प्राप्त पेनाल्टीमा सलाहले आफ्नो दोश्रो गोल गरे ।

गत सिजन आफ्नो नाम अनुरुप कुनै कमाल गर्न नसकेका सलाहले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । उनले लगातार ९ खेलमा गोल गरेका हुन् ।

युरोपमा लयमा देखिएको लिभरपुलले आफ्नो सबै शुरुवाती तीन खेल जित्दै अंक तालिकामा ९ अंक सहित शिर्ष स्थानमा कब्जा गरेको छ । मात्र एक खेल जितेको एट्लेटिको चार अंक सहित दोश्रो स्थानमा छ । एसि मिलानलाई पराजित गरेको एफसी पोर्टोको पनि चार अंक छ । मिलान अंक बिहिन छ ।

शारिरिक बर्चस्व रहेको खेलमा जित हात पारेपछि लिभरपुल व्यवस्थापक योर्गन क्लोप सन्तुष्ट थिए । “फोहोरी तीन अंक सधै महत्वपूर्ण हुन्छ र आज राति निकै फोहोरी थियो । हामीले उत्कृष्ट फुटबल खेलेका होइनौं तर यो एउटा महत्वपूर्ण कदम हो,” क्लोपले भने ।

च्याम्पियन्स लिगमा लिभरपुलको सर्वाधिक गोलकर्ता बन्ने क्रममा सलाहले ४८ खेलमा ३१ गोल गरिसकेका छन् । उनले क्लब लेजेण्ड स्टेभन जेरार्डको ३० गोलको किर्तिमान तोडेका हुन् ।

Click to comment

Trending