T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : स्कटल्याण्ड सुपर १२ नजिक 

Published

on

पपुवा न्यु गिनी माथि १७ रनको फराकिलो जित हात पार्दै स्कटल्याण्डले ट्वान्टी ट्वान्टी विश्वकपको सुपर १२ नजिक पुगेको छ भने पपुवा न्यु गिनी पहिलो चरणबाट नै बाहिरिएको छ ।  

आफ्नो पहिलो खेलमा बंगलादेश विरुद्ध ६ रनको सनसनीपूर्ण जित निकालेको थियो भने पपुवा न्यु गिनीले ओमानसँग १० विकेटको लज्जास्पद हारको सामना गरेको थियो । स्कटल्याण्डले अब सिधै सुपर १२ मा स्थान बनाउने छ कि छैन भन्ने आज नै हुने बंगलादेश र ओमन बीचको खेलले निर्धारण गर्नेछ ।आजको दोश्रो खेलमा ओमानले बंगलादेशलाई पराजित गरेको खण्डमा स्कटल्याण्डले सुपर १२ मा स्थान बनाउने छ भने बंगलादेश पहिलो चरणबाट नै आउट हुनेछ ।

रिची बेरिंग्टनले अर्धशतकीय पारी खेले पछि स्कटल्याण्डले नौ विकेट गुमाएर १६५ रनको विशाल योगफल तयार पार्यो भने जबाफी ब्याटिङ गरेको पपुवा न्यु गिनीले १९ दशमलब तीन ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १४८ रन बनाउन सक्यो ।  

स्कटल्याण्डको जितमा खेलको म्यान अफ द म्याच घोषित बेरिंग्टनले ४९ बलको सामना गर्दै छ चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ७० रन बनाए भने जोश डेवीले तीन दशमलब तीन ओभर बलिङ गर्दै १८ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे ।

कबुवा मोरेले चार तथा चाड सोपरले चार विकेट लिए पनि स्कटल्याण्डको लागि बेरिंग्टन बाहेक विकेट किपर म्याथ्यु क्रसले ४५ रनको पारी खेल्दै आफ्नो टोलीलाई ठुलो स्कोर सम्म पुर्याउन सफल भए । १५१ रनमा चौथो विकेट गुमाएर विशाल स्कोर तर्फ लम्केको स्कटल्याण्डले १४ रन जोड्दा पछिल्लो पाँच विकेट गुमाउन पुग्यो ।  

पपुवा न्यु गिनीका नोर्मन भनुवाले सर्वाधिक ४७ रनको पारी खेले भने अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।

 

Click to comment

Trending