Headline

ट्वान्टी ट्वान्टी बिश्वकपः क्याम्फरको किर्तिमानमा आयरल्याण्डको बिशाल जित

Published

on

फास्ट बलर कर्टिस क्याम्फरले चार बलमा चार विकेटको किर्तिमानी प्रदर्शन गर्नुका साथै मार्क अडेयरले पनि उत्कृष्ट बलिंँग गर्दा आयरल्याण्डले ट्वान्टी ट्वान्टी बिश्वकपको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

अबु धाबीमा पहिलो चरणको समुह ए अन्तर्गतको खेलमा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा चार बलमा चार विकेट लिने बिश्वका तेश्रो बलर बन्दा नेदरल्याण्ड्स २० ओभरमा १ सय ६ रनमै अलआउट भएको थियो ।

आयरल्याण्डका लागि अडेयरले पनि घातक बलिंग गर्दै चार ओभरमा मात्र ९ रनको खर्चमा तीन विकेट लिएका थिए । जवाफमा आयरल्याण्डले १५ दशमलव १ ओभरमै लक्ष्य प्राप्त गर्यो । उसका लागि ग्यारेथ डेलानीले २९ बलमा ४४ रन बनाएका थिए भने ओपनर पउल स्टर्लिङ्ग ३९ बलमा ३० बनाउदै नटआउट रहे ।

डेलानीले पाँच चौका र दुई छक्का प्रहार गरे । नेदरल्याण्ड्सका लागि फ्रेड क्लासेन, ब्रान्डन ग्लोभर र कप्तान पिटर सिलारले १–१ विकेट लिएका थिए ।

यसअघि क्याम्फर आयरल्याण्डका लागि अन्तर्राष्ट्रिय ह्याट्रिक लिने पहिलो खेलाडी बने । १० औं ओभरमा बलिङ्गमा फर्किएका क्याम्फरले कोलिन एकरम्यानलाई विकेटकिपर निल रकको हातबाट क्याच आउट गराउदै पहिलो विकेट लिए ।

त्यसपछि उनले अनुभवी रायन टेन डोस्काटे र स्कट एडवार्ड्सलाई एलबिडब्लु धरापमा पार्दै ह्याट्रिक पुरा गरेका थिए । चौथो विकेटको रुपमा उनले पुर्व दक्षिण अफ्रिकी खेलाडी तथा अर्का अनुभवी अलराउण्डर रुलोफ भान डर मर्वलाई बोल्ड गरेका थिए ।

ट्वान्टी अन्तर्राष्ट्रिय पहिलो पटक चार बलमा चार विकेट श्रीलंकन फास्ट बलर लसिथ मालिंगाले लिएका थिए । उनले न्युजिल्याण्डबिरुद्धको श्रृंखलामा यो उपलब्धि हात पारेका हुन् । यस्तै अफगान लेग स्पिनर रसिद खानले आयरल्याण्डबिरुद्ध भारतमा भएको श्रृंखलामा चार बलमा चार विकेट लिएका थिए ।

नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउडले ४७ बलमा ७ चौकाको मद्दतमा सर्वाधिक ५१ रन बनाए । ५१ रनमै ६ विकेट गुमाएको नेदरल्याण्ड्सलाई उनले सेलारसँगको ३७ रनको साझेदारीमा तीन अंकको योगफल नघाउन सघाएका थिए ।

सेलारले २९ बलमा २१ रन बनाए । नेदरल्याण्ड्सले अडेयरले गरेको अन्तिम ओभरको अन्तिम तीन बलमा तीन विकेट गुमाएको थियो ।

Click to comment

Trending