Headline

आयरल्याण्डका क्याम्फरले चार बलमा चार विकेट लिदै गरे सनसनीपूर्ण प्रदर्शन

Published

on

आयरल्याण्डका मिडियम फास्ट बलर कर्टिस क्याम्फरले जारी ट्वान्टी ट्वान्टी बिश्वकपमा नेदरल्याण्ड्सबिरुद्ध चार बलमा चार विकेट लिदै किर्तिमानी प्रदर्शन गरेका छन् ।

ट्वान्टी ट्वान्टी बिश्वकपमा चार बलमा चार विकेट लिने उनी एक मात्र खेलाडी भएका छन् भने ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा सो उपलब्धि हात पार्ने उनी बिश्वका तेश्रो बलर बनेका छन् । उनी आयरल्याण्डका लागि अन्तर्राष्ट्रिय ह्याट्रिक लिने पहिलो खेलाडी भने बनेका छन् ।

अबु धाबीमा जारी समुह ए को खेलको १० औं ओभरमा बलिङ्ग गर्न आएका क्याम्फरले कोलिन एकरम्यानलाई विकेटकिपर निल रकको हातबाट क्याच आउट गराउदै पहिलो विकेट लिए । त्यसपछि उनले अनुभवी रायन टेन डोस्काटे र स्कट एडवार्ड्सलाई एलबिडब्लु धरापमा पार्दै ह्याट्रिक पुरा गरेका थिए ।

चौथो विकेटको रुपमा उनले पुर्व दक्षिण अफ्रिकी खेलाडी तथा अर्का अनुभवी अलराउण्डर रुलोफ भान डर मर्वलाई बोल्ड गरेका थिए ।

ट्वान्टी अन्तर्राष्ट्रिय पहिलो पटक चार बलमा चार विकेट श्रीलंकन फास्ट बलर लसिथ मालिंगाले लिएका थिए । उनले न्युजिल्याण्डबिरुद्धको श्रृंखलामा यो उपलब्धि हात पारेका हुन् । यस्तै अफगान लेग स्पिनर रसिद खानले आयरल्याण्डबिरुद्ध भारतमा भएको श्रृंखलामा चार बलमा चार विकेट लिएका थिए ।

५१ रनमा दुई विकेटको अवस्थामा रहेको नेदरल्याण्ड्स क्याम्फरको घातक बलिँगसँगै २० ओभरमा अलआउट हुँदै मात्र १ सय ६ रन बनायो । नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउडले ४७ बलमा ७ चौकाको मद्दतमा सर्वाधिक ५१ रन बनाए ।

५१ रनमै ६ विकेट गुमाएको नेदरल्याण्ड्सलाई उनले कप्तान पिटर सेलारसँगको ३७ रनको साझेदारीमा तीन अंकको योगफल नघाउन सघाएका थिए । सेलारले २९ बलमा २१ रन बनाए । क्याम्फर बाहेक निकै कसिलो बलिँग गरेका मार्क अडेयर चार ओभरमा मात्रै ९ रन खर्चेर तीन विकेट लिएका थिए ।

नेदरल्याण्ड्सले अडेयरले गरेको अन्तिम ओभरको अन्तिम तीन बलमा तीन विकेट गुमाएको थियो ।

Click to comment

Trending