T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकपको पहिलो खेलमै बंगलादेश स्कटल्याण्डसँग स्तब्ध

Published

on

ब्याटरहरु चल्न नसक्दा ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा नै बंगलादेश स्कटल्याण्डसँग स्तब्ध भएको छ । ओमानको अल अमिरत क्रिकेट ग्राउण्डमा भएको खेलमा एसोसिएट्स राष्ट्र स्कटल्याण्डले टेस्ट राष्ट्र बंगलादेश माथि छ रनको रोमान्चक जित हात पारेको हो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले पुरै २० ओभर खेल्दै नौ विकेटको नोक्सानीमा १४० रन बनायो भने जबाफी ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा सात विकेट गुमाएर मात्र १३४ रन बनाउन सक्यो ।

बंगलादेशको लागि मुश्फिकर रहिमले सर्वाधिक ३८ रन बनाए भने कप्तान महमुदउल्लाहले २३ तथा शकिब अल हसनले पनि २० रनको पारी खेले । त्यस बाहेक अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा बंगलादेशले हारको सामना गर्न पर्यो ।

बंगलादेशलाई रोक्ने क्रममा ब्राड ह्विलले सर्वाधिक तीन विकेट हात पारे भने क्रिस ग्रिव्सले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

कप्तान तथा ओपनर कायल कोएटजर सात बल खेल्दै डकआउट हुँदा खराब सुरुवात गरेको स्कटल्याण्डको लागि अर्का ओपनर जर्ज मुन्से र विकेट किपर म्याथ्यु क्रसले पहिलो विकेटका लागि ४० रन जोड्दै पारी सम्हाल्ने प्रयास गरे । 

तर मुन्से २९, क्रस ११, रिच्ची बेरिङटन दुई, क्यालम म्याकलोड पाँच तथा माइकल लीस्क शून्य रनमा आउट हुँदा स्कटल्याण्डले आठ रनको अन्तरालमा पाँच विकेट गुमाउँदै ११ दशमलब तीन ओभरमा छ विकेटको नोक्सानीमा ५३ रनको अवस्थामा खुम्चिन पुग्यो । 

त्यस पछि ब्याटिङ गर्न आएका क्रिस ग्रिव्सले २८ बलमा आक्रामक ४५ रनको तथा मार्क वाटले १७ बलमा २२ रनको पारी खेल्दै स्कटल्याण्डलाई चुनौतिपूर्ण योगफल सम्म पुर्याउन सफल भए । उनीहरूले सातौँ विकेटका लागि ३४ बलमा ५१ रनको साझेदारी गरे ।

स्कटल्याण्डलाई सस्तोमै रोक्ने क्रममा मेहेदी हसनले चार ओभरमा १९ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे भने चार ओभरमा नै शकिबले १७ रन रन खर्चिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए । खर्चिलो साबित भएका मुस्तफिजुर रहमानले पनि दुई विकेट नै लिन सफल भए ।  

 

Click to comment

Trending