Headline

फाइनलका लागि अब्दुल्लाहमाथि प्रतिबन्ध लगाउदै साफले गर्यो अन्याय

Published

on

दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीमाथि भारतबिरुद्धको फाइनलका लागि प्रतिबन्ध लगाएको छ ।

साफले आफ्नै नियम मिच्दै अल्मुताइरीमाथि प्रतिबन्ध लगाएको हो । अब्दुल्लाहलाई दुई फरक फरक खेलमा पहेलो कार्ड पाएको भन्दै फाइनलका लागि प्रतिबन्ध लगाएको हो ।

साफ नियमावली अनुसार दुई पहेलो कार्डले खेलाडी अर्को खेलमा प्रतिबन्धित हुने भएपनि अफिसियलहरुको हकमा भने यो लागु हुँदैन । अब्दुल्लाहले श्रीलंका र बंगलादेशबिरुद्धको खेलमा पहेलो कार्ड पाएका थिए ।

नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फाइनल खेलिरहेको हो भने आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो खेलमा चीर प्रतिद्वन्दी भारतको सामना गर्न गइरहेको हो ।

भारतीय प्रशिक्षक इगोर स्टिम्याक पनि फाइनलका लागि टचलाइनमा हुने छैनन । उनले यसअघि माल्दिभ्सबिरुद्धको खेलमा रातो कार्ड खाएका थिए । उनको प्रतिबन्ध भने नियमसँगत नै छ ।

तर साफले भारतकै दवाबमा अब्दुल्लाहलाई पनि प्रतिबन्ध लगाउन दवाब दिएको बुझिन्छ । आफूलाई प्रतिबन्ध लगाएको निर्णयले स्तब्ध अब्दुल्लाहले शनिबार नै भर्चुवल पत्रकार सम्मेलन गर्दै यसको बिरोध गरेका छन् ।

“यदि साफलाई भारतले नै उपाधि जितोस भन्ने थियो भने किन फाइनल खेलाउदैछ । नेपाललाई बोलाएर सिल्भर मेडल र भारतलाई उपाधि दिए हुन्छ,” क्रोधित अब्दुल्लाहले भने ।

“म यो बिषयमा चुप लागेर बस्दिन । म कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्ट्समै जान्छु र यसबिरुद्ध मुद्दा हाल्छु,” उनले भने ।

“मलाई प्रतियोगितामा शुरु देखि नै प्रतिबन्ध लगाउने धुनमा थिए साफ पदाधिकारीहरु । अहिले आएर भारतको प्रशिक्षक फाइनलमा नहुने भनेपछि मलाई प्रतिबन्ध लगाए । साफले आफ्नै नियम मिचेको छ ।”

Click to comment

Trending